कलाकार देव लामा श्रीमतीको साथमा ।

हेटौंडाः कला क्षेत्रमा क्रियाशील हेटौंडाका व्यक्तिहरुले कलाकार, पत्रकार देव लामा बचाउन आर्थिक सहयोग संकलन गरेका छन् । उपचाररत लामाका लागि विभिन्न व्यक्तिमार्फत १ लाख ७ हजार ४८ रुपैयाँ सहयोग संकलन गरिएको छ । हेटौंडा–८, कमाने घर भई हाल काठमाडौं बस्दै आउनुभएका कलाकार, पत्रकार लामाको नशा सम्बन्धी समस्या भएर एक वर्षदेखि उपचाररत हुनुहुन्छ ।

केहीदिन अघि कलाकार, पत्रकार लामाको बारेमा थाहा पाएपछि हेटौंडाका प्रलय चौलागाई, सुवास गहतराज, आशाकाजी श्रेष्ठ, भेष खड्गी, उज्ज्वल शर्मा भण्डारी लगायतका व्यक्तिहरुले सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । उनीहरुले पाँच सय रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म स्वेच्छिक सहयोग संकलन गरी देव लामाको परिवारलाई हस्तान्तरण गर्ने जनाएका छन् । एक साताको अवधिमा सहयोग संकलन गरिएको हो । सहयोग गर्नेमा पनि कलाकारकै संख्या बढी छ ।

हेटौंडामा रहँदा प्रभातकालिन दैनिकमा काम गर्नुभएका लामा पछिल्लो समय कलाकारिताको क्षेत्रमा क्रियाशील रहनुभएको उज्ज्वल शर्मा भण्डारीले जानकारी दिनुभयो । सामाजिक सञ्जालमा देव लामा थला परेका छन् भन्ने थाहा पाएपछि सहयोग संकलन अभियान सञ्चालन गरिएको कलाकार प्रलय चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षअघि लडेर घाइते हुनुभएका लामाको काठमाडौंस्थित एक निजी अस्पतालमा उपचारको क्रममा त्रुटी हुँदा भएर नशामा समस्या देखिएको थियो ।

एक वर्षदेखि थला परेका लामाको अवस्थाका बारेमा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उपचारमा त्रुटी गर्ने अस्पतालले लामाको उपचार गरिदिने भएको भन्ने जानकारी प्राप्त भएको कलाकार चौलागाईले जानकारी दिनुभएको छ ।