हेटौंडाः प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले सरकार किसानप्रति सकारात्मक नभएको बताउनुभएको छ । शनिबार मकवानपुर नागरिक समाज समितिले हेटौंडामा आयोजना गरेको दूध बिक्री समस्यासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद बर्तौलाले सरकार अहिले किसानका समस्यालाई समाधान गर्न जिम्मेवार नबनेकोे बताउनुभयोे । यसअघि फैलिएको लम्पी स्किन रोगलाई सरकारले बेलैमा रोकथाम गर्न नलाग्दा किसानहरुले गाईवस्तु र दूध उत्पादनमा धेरै मूल्य चुकाउनुपरेको उहाँले बताउनुभयो । संसदमा आफूले यस विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकार मूकदर्शक बनेको उहाँको भनाइ छ ।
सरकारले तत्काल दूधलाई व्यवस्थापन गर्न पाउडर प्लान्ट बनाउन कदम चाल्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । अन्तरक्रियामा सरकारपक्षका कोही पनि मन्त्री, सांसद र जनप्रतिनिधि उपस्थित नभएको बताउनुहुँदै उहाँले सरकारले किसानको कुरा सुन्न नचाहेको समेत आरोप लगाउनुभयो । सत्ता जोगाउन मन्त्रीहरु थप्न तयार हुने सरकारले किसानले आफ्ना गुनासो सुनाउन आयोजना गरेको अन्तरक्रियामा सरकारपक्ष सहभागी नभएर गैरजिम्मेवार बनेको उहाँले बताउनुभयो ।
सरकारले किसानले उत्पादन गरेका दूधलाई व्यवस्थापन नगरिदिएको उहाँले बताउनुभयो । सरकारले दूधको मूल्य निर्धारण गरेर स्वदेशी उत्पादनलाई नै खपत गर्ने गरी नीति बनाउनुपर्ने उहाँले बताउनुभयो । अहिले मकवानपुरमा पनि विभिन्न जिल्लाबाट अवैध पाउडर दूधहरु भित्रिने गरेको बताउनुहुँदै उहाँले यसलाई तत्काल राज्यपक्षले कडा निगरानी गरेर रोक्नुपर्ने र यहीँ उत्पादित दूधलाई बजार पाउने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । सरकारले किसानहरुलाई आशाको वातावरण बनाई आफ्नो दायित्व पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले सरकारले किसानको पक्षमा काम गर्न नसकिरहेको बताउनुभयो । अहिले दूध किसानहरुले अनुदान रकमसमेत पाउन नसकिरहेको उहाँले बताउनुभयो । यसले गर्दा देशमा व्यापार घाटा बढ्दै गएको उहाँको भनाइ छ । आफूले सदनमा पटकपटक किसानका हकहितका बारेमा आवाज उठाउने गरेको र आफ्नो कार्यकाल भरी उठाइराख्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
बागमती प्रदेशसभा सदस्य भारती पाठकले किसानको समस्या, गुनासोबारेमा सरकारले नै कार्यक्रमको आयोजना गरेर गुनासो सुन्नुपर्ने भएपनि त्यो हुन नसकेको बताउनुभयो । सरकार पक्ष नै किसानको गुनासो सुन्न सहभागी नभएपछि यसले किसानका समस्या समाधान नहुने उहाँको भनाइ थियो । उहाँले राष्ट्रियस्तरमा तत्काल दूध किसानहरुको समस्याबारे छलफल गर्र्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
दुग्ध सहकारी संघ मकवानपुरका व्यवस्थापक कुमारमणि दाहालले अहिले दूधले बजार नपाइरहेको बताउनुभयो । मकवानपुरमा बाहिर जिल्लाबाट पनि अवैधरुपमा दूध बिक्री हुन थालेपछि मकवानपुरका दूधले बजार नपाएको उहाँले बताउनुभयो । अहिले मकवानपुरका दुग्ध उद्योगहरु आम्दानी नभएर बन्द हुने स्थितिमा पुगेको उहाँले बताउनुभयो । लम्पी स्किनजस्ता रोगहरुले दूध उत्पादन घटेको र व्यवसायीहरु मारमा परेको उहाँले बताउनुभयो । उहाँले मकवानपुरमा पाउडर दूध प्लान्ट चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमका संयोजक सन्दीप सापकोटाले किसानको समस्या समाधान गर्न राज्यका निकायले भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । अहिले किसानहरुले उत्पादन गरेको दूध बेच्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । यो राज्यको पनि सम्पत्ति भएकाले राज्यले किसानको समस्यालाई हल गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमका मुख्य संयोजक गुञ्जनबहादुर न्यौपानेको सभाध्यक्षतामा भएको अन्तरक्रियामा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाई, पशुपक्षी तथा मत्स्य विकास निर्देशनायका निर्देशक डा. गौरीमान श्रेष्ठ र नेपाल डेरी एसोसिएसन मकवानपुरका अध्यक्ष राजकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।











