हेटौंडाः हेटौंडा–४ स्थित हुप्रचौरमा नयाँ शौचालय निर्माण कार्य सम्पन्न भएको छ । महिला, पुरुष र शारीरिकरुपमा अशक्त भएका मानिहरुले प्रयोग गर्न मिल्ने गरी शौचालय निर्माण गरिएको हो ।
निर्माण व्यवसायी संघ मकवानपुरले शौचालय निर्माणको जिम्मा लिएको थियो । निर्माण कार्य सम्पन्न भइसकेको भए पनि शौचालय प्रयोगमा ल्याइएको छैन । स्थानीय तहमा हस्तान्तरण गरेर सञ्चालनमा ल्याउने गरी परामर्श भइरहेको हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयो ।
बागमती प्रदेशको राजधानीको मुख्य केन्द्रमा निर्माण भएको शौचालयबाट स्थानीय बासिन्दा, पर्यटक, खेलाडीहरुले विशेष लाभ लिनसक्ने वडा अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । शौचालयको उचित व्यवस्थापन तथा सुरक्षा गर्ने उद्देश्यले सुरक्षाकर्मीको लागि पनि एउटा कोठाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
संघीय खानेपानी तथा घर व्यवस्थापन आयोगबाट निर्माण गरिएको शौचालय ४ नम्बर वडा कार्यालय र खानेपानी व्यवस्थापन बोर्डसँग समन्वय गरिएको थियो । ३४ लाख रुपैयाँ लगानीमा निर्माण कार्य सम्पन्न गरिएको शौचालय करिब एक महिनाभित्र सञ्चालनमा ल्याउने वडा अध्यक्ष सिग्देलले बताउनुभयो । शौचालय सशुल्क वा निःशुल्क सञ्चालनमा ल्याउनेबारे कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो ।
हुप्रचौरमा धेरै मानिसहरु घुम्न आउने, व्यायाम गर्न आउने, समय बिताउन आउने र विभिन्न खेल खेल्न तथा हेर्न आउने गरेकाले शौचालयको आवश्यकता रहेको थियो । शौचालय सञ्चालनमा आएपछि हुप्रचौर र वरपरको वातावरण स्वच्छ राख्न सहयोग पुग्नेछ ।
