हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पताल र हिमालयन क्याट्रयाक प्रोजेक्टको आयोजनामा शुक्रबार दुई जिल्लामा निःशुल्क आँखा शिविर भएको छ । बारा र पर्सा जिल्लामा भएको शिविरमा १ सय ११ जनामा मोतिविन्दु पहिचान भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।
बारा जिल्लामा भएको निःशुल्क आँखा शिविरमा २ सय जनाले सेवा प्राप्त गरेका थिए । सेवा प्राप्त गरेका २ सय जनामध्ये ७१ जनामा मोतिविन्दु पहिचान भएको हो । आँखा शिविर बारा जिल्लास्थित थोपोमा भएको श्रेष्ठले जानकारी दिनुभयो ।
पर्सामा भएको शिविरमा १ सय २९ जनाले सेवा लिएका थिए । सेवा लिएकामध्ये ४० जनामा मोतिविन्दु पहिचान भएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार पर्सा जिल्लास्थित औवा बन्कटैयामा निःशुल्क आँखा शिविर भएको हो ।
यस्तै, बिहीबार आँखा अस्पतालले मकवानपुरको भीमफेदी गाउँपालिका र रौतहट जिल्लामा निःशुल्क आँखा शिविर गरेको थियो । बिहीबार भएको आँखा शिविरबाट ६३ जनामा मोतिविन्दु पहिचान भएको छ । पहिचान भएका ६३ जनाको आज शनिबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने श्रेष्ठले बताउनुभयो ।
