हेटौंडाः हेटौंडामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार भएको दोस्रो खेलमा सहिद स्मृति क्लब बागमती गाउँपालिकाका आयुष नेगी एक्लैले ४ गोल गर्दै टिमलाई जित दिलाएका छन् ।
हेटौंडा स्पोर्टस् मुण्डियालको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा बागमतीका नेगीले आयोजक मुण्डियाल क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । बागमतीका लागि नेगीले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । दोस्रो हाफको अन्तिममा १ गोल गर्दै ४ गोल आफ्नो नाममा राखे । म्यान अफ द म्याच नेगी नै घोषित भएका छन् ।
यसअघि आजै भएको पहिलो खेलमा रियल स्टार क्लबले कमाने फुटबल एकेडेमीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । रियल स्टारको तर्फबाट पहिलो हाफको १३ औं मिनेटमा साजन थिङले १ गोल गरेका थिए । कमाने एकेडेमीबाट दोस्रो हाफको ५४ औं मिनेटमा पेनाल्टीमा समन लामाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । म्यान अफ द म्याच रियल स्टारका गोलरक्षक आयुष गोले घोषित भए ।
प्रतियोगितामा १४ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ ।