हेटौंडाः दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) शनिबारबाट सुरु हुँदैछ । प्रतियोगितामा यस पटक मकवानपुरका ९ जना खेलाडीले विभिन्न क्लबबाट लिग खेल्दैछन् ।
यस सिजनमा सबैभन्दा बढी झापा एफसीबाट ५ जनाले, पोखरा थन्डर्सबाट ३ जनाले र एक जनाले इलाम एफसीबाट मकवानपुरे खेलाडीहरुले लिग खेल्दैछन् । जसमध्ये ३ जना खेलाडीले दोस्रो पटक लिग खेल्दैछन् भने बाँकी ६ जनाले पहिलो पटक लिग खेल्दैछन् ।
गत सिजन ललितपुर सिटीबाट मार्की खेलाडीको रुपमा लिग खेलेका राष्ट्रिय टिमका सदस्य अञ्जन विष्टले यस पटक झापा एफसीबाट लिग खेल्दैछन् । झापा एफसीले विष्टलाई यस सिजनमा मार्की खेलाडीको रुपमा क्लबमा अनुबन्धन गरेको हो । गत सिजनमा ललितपुर सिटीको कप्तानी गरेका विष्टले यस पटक झापा एफसीको कप्तानी सम्हाल्नेछन् । झापाले मंसिर ११ गते सोमबार स्पोर्टिङ एफसीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
गत सिजनको लिगमा विष्टले ७ गोल गर्न सफल भएका थिए भने पल्सर अवार्डसमेत जितेका थिए । विष्टले फरवार्ड पोजिसनमा खेल्दै आएका छन् । विष्टले राष्ट्रिय टिमबाट १३ गोल गर्दै सर्बाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानी बराबर गरेका छन् । अबको खेलमा गोल गर्न सफल भएमा विष्टले त्यो रेकर्ड तोड्नेछन् । यस्तै, राष्ट्रिय फुटबल टिमका अर्का सदस्य आयुष घलानले यस पटक पनि पोखरा थन्डर्सबाट मार्की खेलाडीको रुपमा लिग खेल्दैछन् । गत सिजनबाट राष्ट्रिय टिममा डेब्यु गरेका घलानले पनि फरवार्डको पोजिसनमा खेल्दै आएका छन् ।
यस्तै, विमल पाण्डेले यस सिजन इलाम एफसीबाट खेल्दैछन् । गत सिजनमा काठमाडौं रेजर्सबाट खेलेका पाण्डेले यसबाट इलामबाट खेल्न लागेका हुन् । पाण्डेलाई क्लबले १ लाख ५० हजार रुपैयाँमा यस सिजनका लागि अनुबन्धन गरेको हो । पाण्डेले २०७३ सालमा त्रिभुवन आर्मीबाट ए डिभिजन लिगमा डेब्यु गरेका थिए । पाण्डेले राष्ट्रिय टिमबाट यसअघि भएको साफ च्याम्पियनसिप खेलेका छन् । पाण्डेले डिफेन्ड पोजिसनमा खेल्दै आएका छन् । मकवानपुरका अनिष देउलाले पहिलो पटक झापा एफसीबाट लिगमा डेब्यु गर्दैछन् । यस सिजनका लागि देउलालाई क्लबले १ लाख ५० हजार रुपैयाँमा अनुबन्धन गरेको छ । देउलाले गत सिजन जावलाखेलबाट ए डिभिजन लिगसमेत खेलेका थिए । देउलाले गोलरक्षकको पोजिसनमा खेल्दै आएका छन् । यस्तै, झापा एफसीबाटै मकवानपुरका सुरज विष्टले लिगमा डेब्यु गर्दैछन् । क्लबले यस सिजनको लिगका लागि विष्टलाई १ लाख रुपैयाँमा अनुबन्धन गरेको हो । विष्टले गत सिजन हिमालयन शेर्पा क्लबबाट ए डिभिजन लिगसमेत खेलेका थिए । विष्टले डिफेन्डरको पोजिसनमा खेल्ने गरेका छन् ।
झापा एफसीबाटै छिरिङ लामाले लिगमा डेब्यु गर्दैछन् । लामालाई क्लबले यस सिजनका लागि २ लाख १० हजार रुपैयाँ खर्चेर अनुबन्धन गरेको हो । लामाले जावलाखेल युथ क्बलबाट गत सिजनबाट ए डिभिजन लिग खेल्दै आएका छन् । लामाले डिफेन्डर पोजिसनमा खेल्ने गरेका छन् ।
यस्तै, समीराज थोकरले पहिलो झापा एफसीबाट लिगमा डेब्यु गर्दैछन् । थोकरलाई १ लाख ३० हजार रुपैयाँमा यस सिजनका लागि क्लबमा अनुबन्धन गरिएको हो । थोकर पनि जावलाखेल युथ क्लबबाट ए डिभिजन लिग खेल्दै आइरहेका छन् । थोकरले मिडफिल्डर पोजिसनमा खेल्दै आएका छन् । एन्जल महर्जनले पोखरा थन्डर्सबाट लिगमा डेब्यु गर्दैछन् । क्लबले महर्जनलाई १ लाख ५० हजार रुपैयाँमा यस सिजनका लागि अनुबन्धन गरेको हो । महर्जनले डिफेन्डर पोजिसनमा खेल्दै आएका छन् । नयाँ संस्करणको एनएसएल आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुनेछ । यस वर्ष १० टिमले प्रतियोगिता खेल्नेछन् । यस सिजनमा विराटनगर सिटी एफसी, वीरगञ्ज युनाइटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुनेछ ।