हेटौँडा : सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई एक हप्ताको अवधिमा ४३ हजार रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको छ । सडक बालबालिकाको व्यवस्थापन र संरक्षणमा क्रियाशील यस संस्थालाई पछिलो एक हप्ताको अवधिमा कुल ४३ हजार ५ सय ६० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको हो ।
मामाघर नेपालले विसं २०६८ सालदेखि हेटौँडा र आसपासका क्षेत्रमा सडक बालबालिकाको आपतकालीन राहत, उद्दार, परामर्श, आवासीय सुविधा, औपचारिक शिक्षा र सीप प्रदान गर्दै आएको छ । हालसम्म २ हजार २ सय ७६ जना अनाथ, असहाय र सडक बालबालिकालाई सेवा प्रदान गरिएको संस्थाको तथ्याङ्क छ । संस्थाले बालबालिकालाई आवासीय सुविधासहित औपचारिक शिक्षा र सीपमूलक तालिमसमेत दिँदै उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
हाल मामाघरमा २४ जना बालबालिकाहरु रहेका छन् । नियमित आम्दानीका केही स्रोत नभए पनि विभिन्न व्यक्तिहरुको जन्मदिन, वैवाहिक वर्षगाँठ, संस्थाको स्थापन दिवस, पितृको स्मरण आदिमा प्राप्त सहयोगबाट आश्रित बालबालिकाहरुको पालनपोषण भइरहेको छ ।











