हेटौंडाः आज बिहीबार हरिबोधिनी एकादशी व्रत तुलसीको विवाह गरी मनाइँदैछ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज धार्मिक स्थलमा मेला लाग्ने गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–२ स्थित त्रिखण्डेश्वर महादेव मन्दिर, मकवानपुरगढीको गढी दरबारस्थित कृष्णमन्दिर, एकादशी महात्मा कमाने र हेटौंडाका विभिन्न धार्मिक स्थलमा मेला लाग्दैछ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जागा हुनुहुने धार्मिक विश्वास रहेको छ । आज जागा हुने भगवान विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लाग्दछ ।
आजकै दिन तुलसीको विशेष पूजासहित विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आषाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुनेछ ।