फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आज बुधबार दुई स्थानमा निःशुल्क आँखा शिविर हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका र रौतहट जिल्लामा एकदिने निःशुल्क आँखा शिविर हुने हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालले दुई स्थानमा ५–५ जना स्वास्थ्यकर्मीको सहयोग टोली पठाउने श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार अस्पतालले शिविरमा मोतिविन्दुलाई धेरै प्रथमिकता दिनेछ ।

भीमफेदी गाउँपालिकामा हुन लागेको शिविरमा पालिकाले २ सय ५० जनाको आँखा परीक्षण गर्ने लक्ष्य लिएको छ । भीमफेदी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा हुने शिविरमा भीमफेदी गाउँपालिकाको सहयोग रहको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनाम थिङले जानकारी दिनुभयो ।

यस्तै, हेटौंडा सामुदायिक आँखा अस्पतालले मंसिर र पुस महिनामा विभिन्न जिल्लाहरुमा निःशुल्क आँखा शिविर गर्ने भएको छ । आँखा अस्पतालको तालिकाअनुसार यी दुई महिनामा बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लाहरुमा निःशुल्क शिविर हुने अस्पतालका व्यवस्थापक श्रेष्ठले बताउनुुभयो । श्रेष्ठका अनुसार मोतिविन्दुको बिरामी बढेका छन् भने मोतिविन्दुको शल्यक्रिया गर्न जनचेतना जगाउन आवश्यक रहेको छ ।