हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाको शिक्षा समितिको बैठक बस्ने भएको छ । बिहीबार बिहान ११ बजे पालिकाको सभाहलमा बैठक बस्ने शिक्षा समितिका प्रमुख दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
बिहीबार बस्ने बैठकमा स्थानीय पाठ्यक्रम तयार, विद्यालयहरुको लेखा परीक्षणका लागि प्रस्ताव आह्वान गर्ने र विद्यालय सुदृढीकरणका लागि केन्द्रबाट विनियोजित कार्यक्रमका लागि विद्यालयसँग प्रस्ताव माग गर्नेबारे छलफल हुनेछ । गाउँपालिकाले स्थानीय पाठ्यक्रमका लागि गत आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट छुट्याएको थियो । उक्त बजेटबाट विज्ञ र जनप्रतिनिधिसहित कार्यशाला गरेर विषयवस्तुहरु संकलन गरी स्थानीय पाठ्यक्रम निर्माण गरेको अधिकारीले बताउनुभयो ।
अहिले पाठ्यक्रम निर्माण गर्ने चरणमा रहेको र विभिन्न कार्यशाला गरेर विषयवस्तु संकलन गर्ने कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । पाठ्यक्रम पारित भएपछि छपाई गर्ने उहाँले बताउनुभयो । बिहीबार बस्ने बैठकमा बजेटले भ्याएसम्म पाठ्यपुस्तक स्रोत सामग्री निर्माण कार्य अगाडि बढाउने निर्णय गर्ने उहाँको भनाइ छ ।
स्थानीय पाठ्यक्रमका लागि चालु आर्थिक वर्षमा स्थानीय स्रोत सामग्री भनेर ८ लाख रुपैयाँ बजेट छुट्याइएको छ । स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले अध्ययन गर्नुपर्नेछ । १० वटा वडा रहेको पालिकामा ४९ सामुदायिक विद्यालय छन् । जसमा ६ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये माध्यमिक तह पढाई हुने ६ वटा विद्यालय रहेका छन् ।
शिक्षा समितिका प्रमुख अधिकारीले पालिकाले यस आर्थिक वर्षमा नियमित कार्यक्रमहरुसँगै विषयगत शिक्षकहरुलाई पुनर्ताजगी तालिम प्रदान गर्ने जानकारी दिनुभयो । यस्तै, दलित र प्राविधिक पढ्ने विद्यार्थीहरुका लागि छात्रवृत्ति दिने कार्यक्रम सुरु गर्ने उहाँले बताउनुभयो । यस वर्ष शिक्षा शाखाका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।
दलित छात्रवृत्तिका लागि २ लाख ५० हजार रुपैयाँ र प्राविधिक पढ्ने विद्यार्थीहरुका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । प्राविधिक पढ्ने विद्यार्थीका लागि १० वटा वडाका दुई–दुई जनालाई वडाको सिफारिसका आधारमा २५–२५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिने प्रमुख अधिकारीले बताउनुभयो । कैलाशमा अहिले आधारभूत तहका कक्षा सञ्चालन भइरहेका विद्यालयहरुमा व्यवस्थित भवन नभएको उहाँले बताउनुभयो ।