हेटौंडा–१२, वनस्पतीका विद्यार्थीलाई घरमै पुगेर पाठ्यपुस्तक हस्तान्तरण गर्नुहुँदै श्रमिक माविका सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेल ।

हेटौंडाः लकडाउनका कारण अवस्थामा असामान्य भए पनि विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न मकवानपुरका सामुदायिक विद्यालयका शिक्षकहरु सक्रिय छन् । कोरोना भाइरसको जोखिमका कारण गरिएको लकडाउनले विद्यालय बन्द भए पनि नयाँ पाठ्यपुस्तक वितरण गर्न पाए विद्यार्थीले घरमै बसेर भए पनि पढ्न पाउने भएकोले पाठ्यपुस्तक वितरणको व्यवस्था गरिएको छ । यसैक्रममा हेटौंडा–४, कर्रास्थित श्रमिक माविले विद्यार्थीलाई पाठ्यपुस्तक घरदैलोमै पुगेर वितरण गरेको छ ।

विद्यालयभन्दा टाढा रहेका विद्यार्थीलाई आज पाठ्यपुस्तक वितरण गरिएको छ । हेटौंडा–१३, वनस्पतीका विद्यार्थीलाई शिक्षकहरु विद्यार्थीको घरमै पुगेर पाठ्यपुस्तक वितरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेलले जानकारी दिनुभयो । नयाँ भर्ना हुन चाहने विद्यार्थी ५ जनालाई भर्ना समेत गरेर आएको सहायक प्रधानाध्यापक प्याकुरेलले बताउनुभयो ।

हेटौंडा–४, कर्रास्थित विद्यालय भवनमा हेटौंडा अस्पतालले आइसोलेसन कक्ष सञ्चालनमा ल्याएसँगै विद्यालयले निर्माण गरेको प्रस्तावित थाहा वाचनालयबाट विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको सहायक प्रधानाध्यापक प्याकरेलले बताउनुभयो । श्रमिक माविमा शैक्षिक सत्र २०७६ मा २५० जना विद्यार्थीले परीक्षा दिएका छन् । हालसम्म विद्यालयले १५० जना विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिसकेको जनाएको छ ।