सोमबार बिहान हेटौंडा बजारमा लिची बेच्दै एक व्यवसायी ।

हेटौंडाः आधुनिक प्रविधि र विज्ञानले प्राकृतिक मौसम बिर्साइदिएको छ । बजारशास्त्रले जुनसुकै वस्तु जुनसुकै समयमा उपलब्ध हुन सक्ने बनाइदिएको छ । यद्यपि प्राकृतिक मौसमको जस्तो स्वाद बजारशास्त्रले विकास गरेको सदाबहार उपलब्ध हुने वस्तुले दिन सक्दैन ।

वर्षा मौसम फलफुलको प्रमुख मौसम पनि हो । यतिबेला फलफुलको राजा आँपको प्रमुख समय हो । आँपसँगै लिची पनि स्वादिलो फल हो । फलफुलको प्रमुख मौसम भए पनि लकडाउनका कारण फलफुलको सहज आपूर्ति तथा वितरण हुन सक्ने अवस्था छैन ।

मकवानपुर जिल्लामा खपत हुने फलफुल अधिकांश तराईका जिल्ला तथा विदेशबाट आउने गरेका छन् । फलफुल खेतीको सम्भावना भए पनि व्यावसायिक फलफुल खेती नगन्य मात्रै भइरहेको छ । फलफुलको बजार मूल्य पनि हेटौंडामा उच्च रहने गरेको छ । उपभोक्ताले महंगोमा फलफुल खरिद गर्न बाध्य छन् । फलफुलको उपभोक्ता मूल्य निर्धारण गर्ने कुनै संयन्त्र छैन । किसान र उपभोक्ताबीचको मूल्यमा ठूलो अन्तर छ ।