राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र्याट नगर विभाग हेटौंडाले बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीलाई ध्यानाकर्षण पत्र बझाउँदै ।

हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र्याट नगर विभाग हेटौंडाले बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीलाई ध्यानाकर्षण पत्र बझाएको छ । सोमबार मन्त्रालयमा पुगेर र्याट विभागले मकवानपुरमा भएको स्वास्थ्य बीमाको बारेमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

विभागले स्वास्थ्य बीमा बोर्ड हेटौंडा शाखा कार्यालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर र स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो । “जिल्लामा मंसिरबाट नवीकरण सकिएको र सेवाग्राहीले समयमा नै नवीकरण बापत भुक्तानी गरे तापनि स्वास्थ्य बीमा बोर्ड हेटौंडा कार्यालयले जनताको स्वास्थ्य जस्तो संवेदनशील सेवाको क्षेत्रमा चरम लापरवाही गरेको, कर्मचारी अभाव भन्ने कारण देखाएर लाचारीपन र गैर जिम्मेवार जवाफ फर्काएर समस्याबाट भाग्न खोजिएको पाइएको छ” ध्यानाकर्षणपत्रमा भनिएको छ । बीमा गराए तापनि अस्पतालबाट बिना उपचार घर फर्किनु परेको बाध्यताले नागरिकको मौलिक हक गुमेको महशुस गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर र्याट विभागले तत्काल समस्याको समाधानको माग गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्नुहुँदै स्वास्थ्य मन्त्री जोशीले आफुले मन्त्री भएपश्चात स्वास्थ्य क्षेत्रमा विकासका लागि काम गरेकोले बीमाको समस्या देशैभर आएको बताउँदै समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा जनताको स्वास्थ्यको क्षेत्रमा राम्रो पक्ष हो, गरिब विपन्न नागरिकका लागि ल्याइएको योजना सबै मानिसले प्रयोग गर्दा समस्या आइरहेको छ, हामी समाधानको पक्षमा लागिपरेका छौ ।” यता स्वास्थ्य बीमा बोर्ड हेटौंडाका प्रमुख नरबहादुर खड्का भन्नुहुन्छ, “स्वास्थ्य बीमा बोर्डको कार्यालयले कर्मचारी कटौती गरेकोले काम गर्ने जनाशक्तिको अभाव रहेको, ६ जना कर्मचारी रहेकोमा अहिले २ जनाले काम गरेका छौँ ।” राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर, नगर सूचना विभाग प्रमुख हरि बहादुर कुवर, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सचिव भुवन खनाल, र्याट विभागका संयोजक दामोदर दाहाल, जिल्ला संगठन विभाग प्रमुख विशाल राज महत लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको हो ।