फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालले मंसिर र पुस महिनामा विभिन्न जिल्लाहरुमा निःशुल्क आँखा शिविर गर्ने भएको छ । आँखा अस्पतालको तालिका अनुसार यी दुई महिनामा बारा, पर्सा, रौतहट, सर्लाही लगायत जिल्लाहरुमा निःशुल्क शिविर हुने भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार मंसिर ८, ९, २५ र २६ गते मकवानपुरको बागमती गाउँपालिकामा निःशुल्क शिविर हुने भएको छ । यस्तै सर्लाही जिल्लामा भने पुस महिनाको मध्यतिर शिविर हुने भएको छ । जाडो मौसम सुरु भएसँगै आँखाको शल्यक्रिया गर्नु उपयुक्त हुने भएकोले आँखा अस्पतालले स्थानीय समुदायसँगको सहकार्यमा शिविरको आयोजना गर्ने गरेको छ । मंसिर र पुस महिनामा निशूल्क आँखा शिविरको तालिका नै तयारी अवस्थामा छ ।

निशूल्क आँखा शिविरमा सर्वसाधारणको आँखाको परीक्षण गर्नुका साथै विशेषगरी मोतिविन्दुको शल्यक्रिया निशूल्क रुपमै गर्ने गरिएको छ । मोतिविन्दुको शल्यक्रियाका लागि विरामीलाई हेटौंडास्थित अस्पतालमै ल्याउने गरिएको छ । यसरी हेटौँडासम्म आउने, हेटौँडाबाट फर्कनका लागि निशूल्क यातायातको समेत व्यवस्था मिलाउनुका साथै सहयोगीलाई समेत खाने–बस्ने व्यवस्था गरिन्छ । यसका लागि आँखा अस्पतालले विभिन्न सामाजिक संघ, संस्थासँग सहकार्य गर्ने गरेको छ ।

आँखा अस्पतालमा दैनिक ३ सयको हाराहारीमा बिरामी आउने गरेका छन् । श्रेष्ठका अनुसार बिहान ६ बजेदेखि ११ बजेसम्म टोकनको समय भएपनि अस्पतालले टाढाबाट आएका बिरामीलाई सेवा प्रदान गर्ने गरेको छ । सामुदायिक आँखा अस्पताललाई स्थानीय, प्रदेश सरकारको सहयोग रहने गरेको र थप सहयोग पनि प्राप्त हुने श्रेष्ठ बताउनुहुन्छ । आँखा अस्पतालमा डा. सुनिल थकाली, डा. मोहिनी श्रेष्ठ र डा. इलिना गौचनले सेवा प्रदान गर्दै आइरहनु भएको छ ।