योग गुरु डा. योगी विकासानन्द ।

हेटौंडाः प्रख्यात दार्शनिक तथा योग गुरु डा. योगी विकासानन्द हेटौंडा आउनुहुने भएको छ । यही मंसिर ९ गते हेटौंडामा आयोजना हुने ध्यान, योग, साधना तथा विभिन्न कार्यक्रममा सहभागी हुन डा. विकासानन्द हेटौंडा आउनुहुने भएको हो ।

विकासानन्द फाउण्डेसन हेटौंडा शाखाको आयोजनामा हुने उक्त कार्यक्रमलाई उहाँले सञ्चालन गर्ने फाउन्डेसनका सदस्य भरत भण्डारीले जानकारी दिनुभयो । कार्यक्रम मंसिर ९ गते हेटौंडा–४ स्थित रोयल प्यालेसमा बिहान १० बजेदेखि साँझसम्म सञ्चालन हुने उहाँले बताउनुभयो । कार्यक्रममा ध्यान गर्ने तरिका, स्वस्थ जीवन जिउने तरिका र सकारात्मक सोचाई, आफ्नो शक्तिलाई पहिचान गर्ने तरिकाबारे योग गुरु विकासानन्दले सिकाउनु हुनेछ ।

कार्यक्रममा सहभागी हुन टिकटको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागि हुन प्रतिव्यक्ति ५ सय रुपैयाँ शूल्क तोकिएको छ । १ हजार ५ सय वटा टिकट विक्री गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म १ हजार टिकट विक्री भइसकेको सदस्य भण्डारीले बताउनुभयो । पछिल्लो समय सर्वसाधारणमा मानसिक समस्या बढ्ने र विभिन्न समस्याहरु उत्पन्न हुने कुरालाई मध्यनजर गर्दै हेटौंडामा पनि पहिलो पटक यो कार्यक्रम आयोजना गर्न लागिएकोे उहाँले बताउनुभयो । अहिलेको समयमा योग र ध्यान नगरेसम्म मान्छेहरु पीडामुक्त हुन नसक्ने उहाँको भनाई छ ।