हेटौँडा बजारमा आयोजित भिन्तुना र्यालीमा सहभागीहरु ।

हेटौँडाः नेपाल सम्वत्को नयाँ वर्ष ११४४ को अवसरमा हेटौँडाको ठाउँठाउँमा भिन्तुना र्याली निकालिएको छ । हेटौँडा बजारसँगै हेटौँडा–८, कमाने र हेटौँडा–९, पशुपतिनगरमा पनि भिन्तुना र्याली निकालिएको छ ।

हेटौँडा बजारमा नेपाल भाषा खलः, नेवा साँस्कृतिक पुचःको समन्वयमा नेपाल सम्वत् समारोह समितिले भिन्तुना र्याली निकालिएको थियो भने हेटौँडा–८, कमानेमा देउला समाजले र हेटौँडा–९, पशुपतिनगरमा ज्वज्वलपा नेवाः पुचःको आयोजनामा भिन्तुना र्याली निकालिएको हो ।

हेटौँडा–८, कमानेमा आयोजित भिन्तुना र्यालीमा सहभागीहरु ।

र्यालीमा सहभागीले मौलिक पोशाक लगाउनुका साथै धिमे बाजासहित सहभागी भएका थिए । हेटौँडा बजारमा निकालिएको र्यालीमा साइकल, मोटरसाइकल र्याली पनि निकालिएको थियो । नेपाल सम्वत् प्रचलनमा ल्याउने शंखधर साख्वको तस्वीरमा माल्यार्पण गरी नगर परिक्रमा गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको सहभागिता रहेको र्यालीलाई नगर क्षेत्रका सडकछेउमा कलश राखेर स्वागत गर्नुका साथै सगुन समेत खुवाइएको थियो ।

हेटौँडा–८, कमानेमा देउला समाजले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठ, वडा अध्यक्ष रामकृष्ण थापा, निवर्तमान अध्यक्ष गोपाल बहादुर श्रेष्ठ, नेवा देय दवु हेटौँडा उपमहानगर समितिकी अध्यक्ष प्रतिमा श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।

हेटौँडा–८, कमानेमा आयोजित भिन्तुना र्यालीमा बाजा बजाउँदै ।