जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको विज्ञप्ति

हेटौंडाः मकवानपुरमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्नुहुँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले यस्तो जानकारी गराउनुभएको हो ।

बुधबार जिल्ला सुरक्षा समितिको बैठकबाट तिहार तथा छठ पर्वका समयमा जिल्लाभित्र शान्ति सुरक्षालाई प्रभावकारी तुल्याएर शान्तिपूर्णरुपमा चाडपर्व मनाउने वातावरण कायम गर्न यस्तो निर्णय गरेको विज्ञप्तिमा भनिएको छ । यो निर्णयबमोजिम गराउन सबै सरोकारवाला पक्षहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

देउसी तथा भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र त्यसपश्चात् अनिवार्यरूपमा बन्द गर्ने विज्ञप्तिमा जनाइएको छ । यस्तै, चाडपर्वको समयमा आफूले खुशीयाली मनाउँदा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन भनिएको छ ।

तिहार र छठ पर्व मनाउने क्रममा पटाकाजस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षालगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न र नगराउन भनिएको छ । यस्तै, जुवातास खेल्ने खेलाउनेजस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्ने, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्नेलगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू नगर्न विज्ञप्तिमा भनिएको छ ।