सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिदैँ ।

हेटौँडाः सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी चालकको निःशुल्क आँखा परीक्षण गरेको छ । बिहिबार हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले १०४ जना चालक र सहचालकको आँखा परीक्षण भएको छ । पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन चलाउने चालकको हेटौँडामा निःशुल्क आँखा परीक्षण गरिएको हो । आँखा परीक्षणका क्रममा २७ प्रतिशतभन्दा बढीमा दृष्टिदोष, आँखा चिलाउने, जलविन्दु, मधमेहले आँखामा पारेको प्रभाव, मासु पलाउने जस्ता समस्या भेटिएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

१०४ सार्वजनिक सवारी साधनका चालकहरुको आँखा परीक्षण गरिएकोमा ७६ जनाको आँखाको अवस्था सामान्य रहेको र समस्या देखिएकोमा चस्मा लगाउनु पर्ने ११ जना, मासु पलाइएको ८ जना, नसा सुन्निएको २ जना, नजिक कम देख्ने ३ जना, टाढा नदेख्ने ४ जना गरी २८ चालकहरुलाई नियमित आँखाजाँच सम्बन्धी परामर्श समेत दिइएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरले समय–समयमा सवारी जाँच, चालक सहचालकको स्वास्थ्य परीक्षण गर्दै आएको छ ।