खेलाडीहरुको सामुहिक तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी शहीद स्मृति खुला नकआउट पुरुष फुटबल प्रतियोगितामा मनहरी गाउँपालिका विजयी भएको छ । अखिल नेपाल खेलकुद महासंघ बकैयाको आयोजनामा बिहीबार भएको पहिलो खेलमा मनहरी गाउँपालिका विजयी भएको हो ।

मनहरीले निजगढ नगरपालिका बारालाई ४–० गोलले हराएको छ । मनहरीको तर्फबाट पहिलो हाफको ४ औँ मिनेटमा मिलन मगरले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ११ औँ मिनेटमा राहुल थापा मगरले र १८ औँ मिनेटमा अविन योञ्जनले समान १–१ गोल गर्दै अग्रतालाई बलियो बनाए । दोस्रो हाफको १२ औँ मिनेटमा राहुल थापा मगरले थप १ गोल गरे ।

खेल अवधिभर निजगढको तर्फबाट कसैले पनि गोल फर्काउन नसकेपछि हार व्यहोर्नुपरेको हो । बिहीबार नै मरिण गाउँपालिका सिन्धुली र बागमती प्रदेश प्रहरी कार्यालयबीच भएको क्वाटरफाइनल खेल रात परेर समयले साथ नदिएको कारण ट्राइब्रेकरमा रोकिएको छ । खेल आज १२ बजे हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।