हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित वंशगोपाल माविका विद्यार्थीले व्यावसायिक फुल खेती गर्दै तिहारका लागि सयपत्री फुल तयार पारेका छन् । विद्यालय परिसरमा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत फुल खेती गरी तिहारका लागि व्यावसायिक रुपमा फुल उत्पादन गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक विक्रम चौरेलका अनुसार विद्यालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीहरु र विद्यालयले तिहार लक्षित विभिन्न प्रजातिका सयपत्री फुल उत्पादन गरेको छ । विद्यालयमा कक्षा ९ देखि १२ कक्षासम्म बाली विज्ञान विषय अध्ययन–अध्यापन भइरहेको छ । जसमा १ सय २० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक चौरेलले बताउनुभयो । विद्यालय परिसरमा दुईवटा टनेलमा सयपत्री फुल लगाएर हुर्काइएको छ । फुल विक्री भएमा ३० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको उहाँले बताउनुभयो । फुल विक्रीको टुङ्गो भने लागि नसकेको उहाँले बताउनुभयो । लगानी गर्दा लागेको खर्च कटौती गरी बाँकी पैसा विद्यार्थीको विद्यालय कोषमा जम्मा गरिने प्रधानाध्यापक चौरेलले बताउनुभयो । विद्यालयमा फुल रोप्नका लागि टनेल भने प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजनाले सहयोग गरेको थियो ।
विद्यालयले पहिलो पटक फुल उत्पादन सुरु गरेको हो । आगामी वर्षदेखि थप व्यवस्थित रुपमा फुल खेती विस्तार गरिने प्रधानाध्यापक चौरेलले बताउनुभयो । विद्यार्थीलाई पढाईसँगै उत्पादनमा जोड दिने उद्देश्यले विद्यालय फुल, तरकारी र धान खेती गर्दै आएको उहाँले बताउनुभयो । विद्यालयमा सयपत्री फुलसँगै विद्यार्थीहरुले धान खेती र तरकारी खेती पनि गरेको छ । ४ वर्षदेखि धान खेती भइरहेको छ । यस वर्ष करिब २ कठ्ठा जग्गामा धान खेती गरिएको छ । यस्तै २ वटा टनेलमा गोलभेडा र बोडी खेती गरिएको छ । तरकारीहरु तिहारदेखि छठसम्म विक्री गर्न योग्य हुने प्रधानाध्यापक चौरेलले बताउनुभयो । यस वर्ष गोलभेडाबाट करिब १ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । अर्को वर्षदेखि धान खेती गरिएको जग्गामा पनि व्यवस्थित रुपमा तरकारी खेती विस्तार गरिने उहाँले बताउनुभयो ।