हेटौंडाः चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य तत्काल अघि बढ्ने भएको छ । मंगलबार बागमती प्रदेश सरकार र चितवनको भरपुर महानगरपालिकाले मिलेर रंगशाला निर्माण गर्ने सम्झौता गरेसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरकी प्रमुख रेणु दाहालले रंगशाला निर्माणका समझदारी गर्नुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार अहिले पहिलो चरणमा १० हजार दर्शक क्षमताको रंगशाला निर्माणको कामलाई अघि बढाउने सहमति भएको छ । यसका लागि ७५ करोड रुपैयाँ खर्च लाग्ने प्राविधिक मुल्याङ्कन भएको उहाँले बताउनुभयो । जसमा बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत रकम लगानी गर्ने सहमति भएको छ । रंगशाला प्रस्तावित क्षमता ३० हजार दर्शकको भएपनि अहिले तत्काल पहिलो चरणमा १० हजार दर्शक क्षमता बनाउन सुरु गरिने र बाँकी पछिल्लो चरणमा निर्माण गर्ने सदस्य सचिव भण्डारीले बताउनुभयो ।
धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको रंगशाला ऋण भएको भन्दै निर्माण कार्य रोकिएको थियो । सदस्य सचिव भण्डारीका अनुसार ३ अर्ब रुपैयाँमा बन्ने रंगशालामा अहिलेसम्म ५७ करोड रुपैयाँ काम सम्पन्न भएको छ । रंगशाला निर्माण गर्दाको ऋणको जिम्मा भने संघीय सरकारलाई नै छोड्ने गरी प्रदेश सरकार र भरतपुर महानगरपालिकाले तत्काल निर्माणका लागि लगानी गर्ने भएको हो । धुर्मुस सुन्तली फाउन्डेसनले हालसम्म रंगशाला निर्माण गर्दा करिब १२ करोड जति ऋण भएको प्राविधिक मुल्याङ्कन रहेकोे भण्डारीले बताउनुभयो ।
मंगलबार प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश सरकार र भरतपुर महानगरपालिकाको निर्णय प्रक्रियामा सहभागिता कर्मचारी र प्राविधिकहरुको उपस्थिति रहेको थियो ।