हेटौंडा उपमहानगरपालिका ।

जनप्रतिनिधिको ५ दिन र कर्मचारीको ३ दिनको तलब दिने
हेटौँडाः जाजरकोट भूकम्प पीडितका लागि हेटौँडा उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार बिहान बसेको कार्यपालिका बैठकले भूकम्प पीडितका लागि १० लाख रुपैयाँ उपमहानगरपालिकाको कोषबाट र १० लाख रुपैयाँ तौल पुल सञ्चालनबाट भएको आम्दानीको रकम उपलब्ध गराउने निर्णय भएको बैठकमा सहभागी एक वडा अध्यक्षले जानकारी दिनुभयो ।

यस्तै कार्यपालिका बैठकले जनप्रतिनिधिको ५ दिनको पारिश्रमिक र कर्मचारीको ३ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको वडा अध्यक्षले जानकारी दिनुभयो । गत शुक्रबार राती ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटको बारेकोट गाउँपालिका–१ स्थित रामी डाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् । भूकम्पका कारण जाजरकोटामा मात्रै नौ सय पाँच वटा घर पूर्ण क्षति भएको छ ।

हेटौँडा उपमहानगरपालिकाले कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्ने गरेको छैन । नगरपालिकाले औपचारिकरुपमा वैठकका निर्णय सार्वजनिक नगरिरहेको सन्दर्भमा वडाअध्यक्षले कार्यपालिका वैठकका विषयमा जानकारी दिने क्रममा आफ्नो परिचय भने सार्वजनिक गर्न मान्नु भएन । “मैले निर्णय भएको कुरा त भनेँ तर, हाम्रो कार्यपालिका बैठकमा भएको निर्णय र माइन्युटमा लेखिने निर्णय फरक हुन्छ । त्यसैले मैले भनेको कुरा नमिल्न पनि सक्छ है”, ती वडाध्यक्षले भन्नुभयो ।

हेटौँडा उपमहानगरपालिकाको नियमित कार्यपालिका बैठक समेत बस्न सकेको छैन । हरेक महिनाको २ र १६ गते बैठक बस्ने कार्यतालिका भए पनि चालु आर्थिक वर्षको चार महिना पूरा भइसक्दा एक पटक पनि कार्यतालिकाअनुसारको बैठक बस्न सकेको छैन । नियमित बैठक बस्दा झण्डै एक लाख रुपैयाँ खर्च हुने उल्लेख गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामाले आवश्यक पर्दा कार्यतालिका भन्दा अन्य समयमै बैठक बस्ने गरेको बताउने गर्नुभएको छ ।