हेटौँडाः सोमबारदेखि काठमाडौंमा सुरु भएको टि–२० विश्वकप छनोटमा नेपालले शानदार सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई नेपालले ८ विकेटले सहजै पराजित गरेको छ । नेपालको जितमा ओपनर आशिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट सुरुवात गरे ।
टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा निर्धारित २० ओभरमा एक सय ४५ रन जोडेको थियो । जवाफी व्याटिङमा उत्रिएको नेपालका लागि ओपनर आशिफ र कुशलले ८४ रनको सुरुवाती साझेदारी गरे । आशिफ २७ रनमा आउट भएपछि कुशललाई साथ दिन कप्तान रोहित पौडेल मैदान प्रवेश गरे । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ७४ रनको महत्वपूर्ण योगदान गरे । नेपालले १६ ओभर ३ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
नेपालका लागि कप्तान रोहितले ३५ रनको योगदान गर्दै अविजित रहे । कुशल भुर्तेल विजयी छक्का प्रहार गर्न खोज्दा क्याच आउट भए भने कुशल मल्लले क्रिजमा पहिलो बल नै छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । सिंगापुरलाई मध्यम स्कोरमै रोक्ने क्रममा नेपालका अविनाश बोहराले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २ विकेट लिए ।
करण केसीले पहिलो बलमै सिंगापुरका अरित्रा दत्तालाई आउट गरे भने सिंगापुरका अमत्र्य कौल र अनन्था कृष्ण शून्यमै आउट भए । सिंगापुरका ओपनर रोहन रंगराजनले ४६ रन, आर्यवीर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन जोडेका थिए । सिंगापुरका ३ खेलाडी शून्यमै आउट हुँदा अन्य ४ खेलाडीले पनि दोहोरो अंकको स्कोर जोड्न सकेनन् । नेपालले अब भोलि मलेसियाको सामना गर्नेछ ।