हेटौंडाः राष्ट्रिय युवा कविता उत्सवमा आयोजित कविता प्रतियोगितामा सुनसरीका सुरज पराजुली प्रथम हुनुभएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजना तथा साहित्य संगम मकवानपुरको समन्वयमा शनिबार हेटौँडामा सम्पन्न राष्ट्रिय युवा कविता उत्सव २०८० मा कविता प्रतियोगिता, एकल कविता वाचन, युवा पुस्तामा कविता क्रेज सन्दर्भमा बहस तथा पुस्तक प्रदर्शनी भएको थियो ।
कविता प्रतियोगितामा २० जना कविता छनोट भएकोमा १८ जना काविहरु उपस्थित भएर कविता वाचन गरेका थिए । पराजुलीको “पर्खाइ” कवितिाले ८२ दशमलव ५ अंक प्राप्त गरी प्रथम भएको हो । प्रतियोगितामा चितवनका कवि अन्जान प्रदीप द्वितीय हुनुभएको छ । उहाँको “कुण्डली” कविताले ८२ दशमलव ३३ अंक प्राप्त गरेको थियो । यस्तै नुवाकोटका कवि एलिशा एकलासको कविता “निर्धाे बक्र रेखाहरु” तृतीय भएको छ । उहाँले प्रस्तुत गर्नुभएको कविताले ८० दशमलव १६ अंक प्राप्त गरेको थियो ।
तनहुँका कवि भिमप्रसाद सापकोटा सान्त्वना हुनुभएको छ । कवि सापकोटाको मेरो यात्रा कविताले ७९ दशमलव १६ अंक प्राप्त गरेको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कविहरुले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजारसहित सम्मानपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको अन्त्यमा कवि विप्लप प्रतिकले १० वटा कविता वाचन गर्नुभएको थियो ।
बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कविता उत्सवको उद्घाटन कार्यक्रम भएको थियो ।