हेटौँडाः नेपाल पत्रकार महासंघले आस्थाका आधारमा आफ्ना संगठन निकटका व्यक्तिको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरेको भन्दै प्रेस चौतारी बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको छ । शनिबार प्रेस चौतारी बागमती प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडा नेतृत्वको एक टोलीले हेटौँडास्थित महासंघको प्रदेश समिति कार्यालयमा तालाबन्दी गरिदिएको हो ।
महासंघको जिल्ला समितिबाट सिफारिस भएका प्रेस चौतारी निकटका पत्रकारको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण नगरिएको तर, महासंघका नेतृत्वका संगठनप्रति आस्था राख्ने तर जिल्लाबाट सिफारिस नभएका पत्रकारको नवीकरण र नयाँ सदस्यता स्वीकृत भएको भन्दै चौतारीले आपत्ति जनाएको छ । यसअघि नै सदस्यता नवीकरण र सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि प्रदेश समितिसँग वार्ता र सहमति भएविपरित महासंघले आस्थाका आधारमा सदस्यता नवीकरण र सदस्यता वितरणमा पूर्वाग्रह राखेको भन्दै चौतारीले महासंघ आफैंले बनाएको मापदण्ड पालना गर्न ध्यानाकर्षण गरेको छ ।