विद्यार्थीलाई सम्मानपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः नेपाली लेखक संघ मकवानपुरको नवौँ साधारणसभा शनिबार हेटौँडामा भएको छ । साधारणसभाको अवसरमा संघले दामोदर–लोकप्रिया स्मृति पुरस्कारबाट १२ कक्षाको परीक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थीलाई सम्मान गरेको छ ।

संघले पहिलो पटक विद्यार्थीलाई सम्मान गरेको हो । नेपाली लेखक संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका विष्णुप्रसाद गौतम र उहाँका मामा माधवप्रसाद पोखरेलले संयुक्तरुपमा २ लाख रुपैयाँको अक्षयकोण स्थापना गरी आफ्ना पूर्वजको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यले जानकारी दिनुभएको छ ।

कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने हेटौंडा स्कूल अफ म्यानेजमेन्टका विद्यार्थी अन्तरा महतो र प्रज्वल चौधरीलाई जनही ११ हजार नगदसहित सम्मान गरिएको छ । छात्रातर्फ अन्तराले ३.९ जीपीएसहित उत्कृष्ट नतीजा हासिल गर्नुभएको छ भने प्रज्वलले ३.७३ जीपीएसहित छात्रतर्फ उत्कृष्ट नतीजा हासिल गर्नुभएको छ ।

नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको सभाध्यक्षता तथा नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य ह्याग्रीव आचार्यको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा नेपाली लेखक संघ मकवानपुरका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल र विष्णु लामिछानेको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा पुरस्कारका संस्थापक विष्णु गौतम, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालको पनि आतिथ्य रहेको थियो ।