यात्रै यात्राले भरिएको यस जीवनले थुप्रै कुराको अनुभूति गराएको छ । खासमा मानिसको सार भनेको भ्रमण वा यात्रा हो र यसै यात्रामा म पनि हराएको थिएँ, २०७८ सालमा । कहिल्यै नसोचेको तर मनले भने त्यहाँ जान खोजेको ठाउँ थियो पोखरा । कलिलै उमेरदेखि अनेक ठाउँ भ्रमण गर्न इच्छा राख्ने म पोखरा जाने कुरामा एकदम खुसीले गदगद भएको थिएँ । अप्रत्यासित रुपमा भए तापनि पोखरा भ्रमणको मिठो सपना बुन्न थालेको थिएँ । सायद यात्राको खास कुरा यही होला, यात्रा गर्नुअघि नै मनमा एक किसिमको खुसी उत्पन्न हुन्छ ।
पुस–माघको त्यो जिउ नै सिरसिराउने जाडोमा म लगायत मेरी प्यारी आमा न्यानो भई आमाको काकाको गाडीमा पोखराको यात्रातर्फ लाग्यौँं । पोखरा नपुगेको पनि थुप्रै वर्ष भइसकेको थियो । त्यसैले मभन्दा पनि मेरी आमा निक्कै उत्साहित हुनुहुन्थ्यो । बुबा र दाइ भने आफ्नो कामले पोखराको मनोरम दृश्य अवलोकन गर्न पाउनु भएको थिएन ।

गाडीको झ्यालबाट आउने चिसो हावाले कान चिसिए पनि नदीको त्यो छछल्किएको पानी र त्यही पानी नजिकै घामलाई जिस्काए झैं अटल खडा रही रहेको पहाडको दृश्यले मनमा आनन्द दिइरहेको थियो । त्यही दृश्यलाई हेर्दै अनेकौँ घुम्ती र पहाडहरूलाई छिचोल्दै हामी पोखरा पुग्यौं । बाटोको खल्डाखुल्डी र ६ घण्टाको यात्राले आमा र मेरो जिउ ठूलो ढुङ्गा भन्दा नि गह्रुंगो भएको थियो । त्यसैले आमा र म केही क्षण आराम ग¥यौं । आमाको फूपु र काकाको घर पोखरा मै भएको कारणले हामीलाई केही अप्ठ्यारो भएन । साँच्चै नै पोखराको हावापानी बेग्लै हुँदो रहेछ, त्यो हावामा आनन्द घुलेको थियो । साफा र चौडा बाटाहरुमा गुडिरहेका ती गाडीहरुको आफ्नै कथा थियो । पोखरा पुगेकै क्षण म त्यहाँको हरेक गल्ली, दोबाटो र कुना–कुना घुम्ने सोचमा मग्न अनि मस्त थिएँ । खानपिन गरेर म पनि दिदीसँग पोखराको प्रसिद्ध एवम् पर्यटकीयस्थल फेवाताल जाने निर्णय गरेँ ।

जाडोको समय भएको कारणले होला फेवाताल तर्फको यात्रा गर्नुअघि नै साँझ झमक्कै साँझ परिसकेको थियो । मलाई पनि साँझ मै फेवाताल अवलोकन गर्न मन थियो । सायद दिदीले लेकसाइड साँझमै रमणीय हुन्छ भन्नुभएको कारणले होला साँझमा फेवाताल घुम्न जाने उत्साह छुट्टै थियो । हामी पनि मोटा ज्याकेट लगाई सरर चिसो हावा छिचोल्दै फेवातालतर्फ लाग्यौँ । फेवातालको त्यस साँघुरो गल्ली र हरेक गल्लीमा तिहार जसरी सजाइएको साना साना तर एकदमै मनमोहक होटल र क्याफेहरू थिए । त्यही सुन्दर क्याफे र होटलहरू छेउमा थुप्रै किसिमका व्यापार भइरहेको थियो । म र मेरी दिदी त्यही लेकसाइडमा पैदल हिँड्दै फेवातालतर्फ लाग्यौँ । टललल जून र त्यही जूनलाई छर्लङ्ग देखाएको फेवाताल र वरिपरि झिलिमिली बत्ती त्यही दृश्यले मा मन्त्रमुग्ध भइसकेको थिएँ । थाहा छैन कहाँ थिएँ म त्यो समयमा शरीर त्यहीँ फेवातालमा भए तापनि आत्मा स्वर्गमा पुगे झैं भएको थियो । मैले पनि त्यही फेवातालको छेउको पेटीमा बसेर फेवातालको हरेक छाललाई महसुस गर्दै थिएँ । केही क्षण त्यहाँ बसिसकेपछि फेवातालको छेउमा रहेका क्याफेतिर लागेँ ।

पोखराको पहिलो बिहानी आँखा खोल्न नपाउँदै आँखा सामु मच्छापुछ्रे हिमालको सुन्दर दृश्य थियो । चिया खाजा खाई आमा र म आमाको फुपूको घर गयौं र भेटघाट गर्यौ । त्यहाँ आमा र आमाको फुपूको परिवारसँग हामी त्यहीँ नजिकैको मन्दिर गयौँ र पोखराको अर्को कुना अवलोकन गर्यौ । घर फर्किएर हामी ठूलो शिवजीको मूर्ति भएको ठाउँमा जाने निधो गर्यौ। घरबाट निस्किएको केही क्षण नभई अचानक ठूलो पानी पर्यो । पानी परे तापनि हामी आफ्नो यात्रामा हिँडिरहेका थियौँ तर ठूला ठूला असिनाले हाम्रो यात्रा रोकियो । थाहा छैन भाग्यमा नभएर हो कि समयले साथ नदिएर पोखरामा कहिलै नपरेको असिना त्यस दिन जोडदार पर्यो । मानौं हिउँ परिरहेको थियो । जसोतसो हामी घर पुग्यौं र मीठो भोजन गर्यौ ।

यसरी रमाइलो गरी नयाँ कुरा अनुभव गरी हाम्रो हेटौंडा जाने दिन पनि आएको पत्तो नै भएन । मनमा त्यही पोखराको मिठो याद र फेवातालको सुन्दर दृश्य समाई मच्छापुछ्र्रे जस्तै चिसो मन लिएर म र मेरी आमा सबैसँग बिदा मागी घर फर्कियौँ । भलै छोटो थियो त्यो यात्रा तर त्यो यात्राले मेरो जीवनमा छुट्टै छाप छोडेको थियो । यात्रा साँच्चै मानिसको जीवनको एउटा पाठ हो जहाँ अनेकौं कुरा सिक्न पाइन्छ ।

कक्षा–१२, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, हेटौँडा–४