उद्योग परिसंघ बागमती प्रदेशको साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमकट्टेल ।

हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारको आत्मनिर्भर बागमती प्रदेश बनाउने नीति रहेको बताउनुभएको छ । हेटौंडामा शनिबार उद्योग परिसंघ बागमती प्रदेशको साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले प्रदेशमा उद्योग, कालकारखाना स्थापना गरी आत्मनिर्भर बागमती प्रदेश बनाउने नीति लिएको बताउनु भएको हो ।

प्रदेश सरकारले उद्योगीको क्षेत्रमा छलफल गरेर अगाडि बढ्ने बताउँदै प्रदेशको क्षेत्राधिकार भित्रका कार्यहरुमा लगानी गरेको दावी गर्नुभयो । सरकारले कृषि क्षेत्रमा जोड दिने जानकारी गराउँदै विगतका दिनमा कृषिमा व्यक्ति केन्द्रित भएकाले त्यसको अन्त्य गरेर व्यावसायीकरण गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । मुख्यमन्त्री जमकट्टेलले उद्योग कालकारखाना प्रदेश सरकारको मातहतमा नभएको समेत जानकारी गराउनुहुँदै प्रधानमन्त्रीले उद्योगीको समस्या मनन् गर्नुभएको बताउनुभयो ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सभामा नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाले निजीकारणको नाममा, उद्योगी मजदुरको नममा उद्योग कलकारखाना ध्वस्त भएको आरोप लगाउनुभयो । चर्काे व्याजदर, बैंकको कडाई, वस्तु, सेवाको उच्च गिरावट र बजारको अभावको कारण उद्योगी मारमा परेको बताउनुभयो ।

उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले स्थानीय, प्रदेश र संघिय सरकारले उद्योगका लागि पहलकदमी चाल्नुपर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लेखराज पोखरेलले परिसंघले गर्ने भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उद्योग परिसंघले कार्यक्रममा बीच सडकबालकको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलन गर्दै आएको हेटाँैडाको मामाघर नेपाललाई १० हजार रुपैयाँ सहयोग गरेको छ ।