महेश कुमार बर्तौला

काठमाडौंः नेकपा एमालेका सचेतक महेश बर्तौलाले मुलुक धार्मिक युद्धतर्फ जानसक्ने खतरा देखिएको बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारले सुरुदेखि नै संविधानलाई किर्ते गर्ने काम गरेको बताए । उनले भने, ‘यो सरकारले संविधानलाई किर्ते गर्ने काम सुरुदेखि नै गरेको छ । नागरिकता विधेयकका नाममा, अघिल्लो संसदले अघिल्लो सभामुखले, अघिल्लो राष्ट्रपतिलाई पठाएको विषयलाई वर्तमान संसदलाई छलेर यो सरकारले वर्तमान राष्ट्रपतिलाई किर्ते गर्न लगाएको छ ।’

उनले सरकार कमाउ धन्दामा लागेको आरोप लगाए । उनले सरकारको संलग्नतामा कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको बताए । उनले सरकारको नालायकीपनले मुलुक अफ्ठ्यारोमा फसेको पनि बताए ।

‘आज मुलुकको हर क्षेत्र तहसनहस भएको छ । अर्थतन्त्र डामाडोल भएको छ । साम्प्रदायिक द्वन्द्व एकपछि अर्को बढ्न थाल्यो । धार्मिक युद्धतर्फ मुलुक जानसक्ने खतरातर्फ गइसक्यो । यो खालको चरम बेथिति छ । कमाउ धन्दामा मन्त्रीहरु लागेका छन् ।’ सचेतक बर्तौलाले सत्तासिन दलका कार्यकर्ता छानिछानी सरकार टिकाउनका लागि क्रुरताका साथ सरकारले मानव अधिकार उल्लंघनका दोषीलाई कैद मिनाह गरेर छुटाइरहेको बताए । (स्रोतः अनलाइनखबर)