हेटौंडाः हेटौंडामा जारी नागस्वती भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । हेटौंडा–१६ स्थित हटिया रंगशालामा ४ वटा क्वाटरफाइनल खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा चितवन भेट्रान्सले जोरपाटी भेट्रान्स काठमाडौंलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वाटरफाइनल खेलमा एनआरटी भेट्रान्स काठमाडौंले बगरभाइ खलक भेट्रान्सलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
तेस्रो क्वाटरफाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स ‘ए’ले अभिषेक चर्च भेट्रान्सलाई ट्राइब्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स ‘बी’ले एससी सेलिङ काठमाडौं भेट्रान्सलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आज शुक्रबार सेमिफाइनल खेलहरु हुनेछ । प्रतियोगिताको फाइनल शनिबार दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।
१६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेता टिमेले २ लाख १ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको नागस्वती भेट्रान्स क्लबका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिनुभयो ।