फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक हरेक महिनाको २ गते र १६ गते बस्ने कार्यतालिका छ । तर, चालु आर्थिक वर्षमा कार्यतालिकाअनुसार बैठक बस्न सकेको छैन । नियमित हुनुपर्ने बैठक हुन नसक्नु एउटा पक्ष छ भने कार्यतालिकाभन्दा अघिपछि बस्ने बैठकको निर्णय पनि सधैं गोप्य रहने गरेको छ । कार्यपालिका सदस्य रहने वडा अध्यक्षहरु समेत बैठकका निर्णयहरुबारे बेखबर रहने गरेको बताउँछन् । उपमहानगरले कार्यपालिका बैठकको निर्णय सञ्चारकर्मीलाई समेत उपलब्ध गराउँदैन ।

चालु आर्थिक वर्षको साउन २४ गते र भदौ १८ गते दुइपटक कार्यपालिका बैठक बसेको छ । तर, उक्त बैठकका निर्णयहरु सार्वजनिक हुन सकेको छैन । निर्णयको विवरण माग्दा पनि कार्यकारी अधिकृत शिवराज चौलागाईले निर्णयको विवरण दिनुभएन । हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई आफू नगरप्रमुखको आदेशमा काम गर्ने व्यक्ति भएको बताउनुहुन्छ । हेटौँडा उपमहानगरपालिकाको बेभसाइट र आधिकारिक फेसबुक पेजमा पनि कार्यपालिका बैठकका निर्णय बारे केही उल्लेख गरिँदैन । हेटौँडा उपमहानगरपालिकाको वेभसाइटमा कार्यपालिका निर्णयहरुको कोलम नै राखिएको छ । तर, उक्त कोलममा २०७५ साल मंसिर १५ गतेयताका निर्णय राखिएको छैन ।

स्थानीय सरकारले गरेका निर्णय किन सार्वजनिक नगरिएको भन्ने प्रश्नमा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले सबै विवरण नआए पनि आवश्यक विवरण आइरहेको भन्दै पन्छिने प्रयास गर्नुभयो । नगरवासीले थाहा पाउन नहुने कस्ता निर्णय हुन्छन् र भन्ने विषयमा आगामी दिनमा सोच्न सकिने उहाँको प्रतिक्रिया छ ।

कार्यपालिका बैठक र निर्णयको प्रक्रिया पनि आश्चर्यजनक छ । स्थानीय सरकारको कार्यपालिका बैठकका निर्णय बैठककै दिन तयार हुँदैन । कार्यपालिका बैठकको निर्णय लेख्ने काम पनि बैठक सकिएको २ दिनपछिसम्म लम्बिने गरेको छ । उपमहानगरका प्रवक्ता सविन न्यौपाने भन्नुहुन्छ, “कार्यपालिका बैठकका निर्णय लेख्नै एकदिन लाग्न सक्छ । बैठकको निर्णय लेखेर नगरप्रमुखले प्रमाणित गर्नुहुन्छ । त्यसैले बैठकमा बुँदागत निर्णय गरेर एकदुइ दिनपछि निर्णयको दस्तावेज तयार पारिन्छ ।”

नगर कार्यपालिकाका सदस्य समेत रहनुभएका एक वडा अध्यक्षको भनाइ अझ आश्चर्यजनक छ । ती वडा अध्यक्षले भन्नुहुन्छ, “निर्वाचित भएर आएदेखि कार्यपालिका बैठकको निर्णयको प्रति मैले समेत हेर्न पाएको छैन । बैठकको उपस्थितिमा मात्रै हस्ताक्षर गर्ने गरेको छु । तर, आगामी बैठकमा भने निर्णय लेखिसकेपछि हस्ताक्षर गरेर मात्रै बैठक कक्षबाट बाहिर निस्कन्छु ।” हेटौँडा उपमहानगरपालिकाको सुशासन समितिका संयोजक समेत रहनुभएका १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानले कार्यपालिका बैठकका निर्णय सार्वजनिक हुनुपर्ने समृद्ध समाजको सरोकारलाई सकारात्मकरुपमा लिनुहुँदै आगामी दिनमा कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । “कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्नुपर्ने विषयप्रति तपाइँको चासो सकारात्मक छ”, सुशासन समितिका संयोजक मोक्तानले भन्नुभयो, “अब म उपमहानगरको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्ने सुनिश्चित गर्छु ।”