हेटौंडाः हेटौंडा–५ स्थित रिलायन्स बोर्डिङ परिसरमा सहिद आकाश मेमोरियल क्याम्पस सञ्चालनमा आएको छ । यसै शैक्षिक शत्रबाट क्याम्पस सञ्चालन हुने भन्दै मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष विजय गौतमले यसबारे जानकारी दिनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनबाट क्याम्पस सञ्चालन हुने बताइएको छ । क्याम्पसले स्नातक तह ४ वर्षे बीआईटी र बीबीएको शैक्षिक कार्यक्रम सञ्चालन गर्नेछ ।
क्याम्पस सञ्चालनका लागि ११ जनाको कार्यसमिति निर्माण भएको छ । समितिमा हेटौंडा उपमहानगरपालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख र जिल्ला प्रशासन कार्यालयका प्रमुख पदेन सदस्यका रुपमा रहेका छन् ।
देशैभरिका सामुदायिक र प्राइभेट क्याम्पसको अवस्था अध्ययन गरी कसैको भन्दा पनि बढी शुल्क नहुने गरी शुल्क निर्धारण गरिएको जनाइएको छ । क्याम्पसको मुख्य उद्देश्य दक्ष सीप भएका जनशक्ति निर्माण गर्ने रहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
बीआईटीको लागि ५ लाख ३५ हजार शुल्क निर्धारण गरिएको र बीबीएको लागि ४ लाख २५ हजार शुल्क निर्धारण गरिएको गौतमले जानकारी दिनुभयो । प्रत्येक संकायमा ४८ जना विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गरिने उहाँको भनाइ छ । प्रवेश परीक्षा तयारीका लागि तयारी कक्षासमेत सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।