बागमती प्रदेश सभा सचिवालय ।

हेटौंडाः बागमती प्रदेशसभाको बैठक आज बुधबार बस्दैछ । प्रदेशसभा बैठक आज बुधबार ४ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मंगलबार बस्ने दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित भएको थियो । बैठक बस्नु केहिबेर अघि प्रदेशसभा सचिवालयले बैठक स्थगित गरिएको सूचना जारी गरेको हो ।

बैठक बस्ने समय गुज्रिन थालेकै अवस्थामा प्रदेशसभा सचिवालयले बैठक स्थगित गरेको सूचना टाँसेको थियो । सोमबार प्रदेशसभा बैठकमा घम्साघम्सी भएपछि मंगलबारका लागि डाकिएको बैठक पनि अचानक स्थगित गरिएको हो ।

प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आफ्ना माग पूरा नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान लिएको छ । मंगलबारको बैठक पनि एमालेकै अडानका कारण स्थगित भएको हो । एमालेले सोमबार नै यथास्थितिमा बैठक सञ्चालन हुन नदिने प्रष्ट पारेको थियो ।

प्रदेश सरकारले ल्याएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रक्रिया मिचेर ल्याइएको भन्दै एमालेले विरोध गरेको हो । उक्त विधेयक प्रक्रियागत ढंगले ल्याउनुपर्ने एमालेको माग छ ।