हेटौंडाः बलात्कारको आरोपमा भीमफेदी गाउँपालिका–१, बाघझोराका एक युवालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । ईन्द्रसरोवर गाउँपालिकाकी एक युवतीलाई बलात्कार गरेको आरोपमा भीमफेदी गाउँपालिका–१, बाघझोराका १८ वर्षीय सुमन वाईबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पीडित युवतीले मंगलबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् ।

सोमबार राती ईन्द्रसरोवर–१ स्थित घरभित्रै लुकेर बसेका वाईबाले राती चक्कु देखाएर युवतीलाई बलात्कार गरेको बताइएको छ । सवारी चालकको रुपमा ईन्द्रसरोवर गाउँपालिका क्षेत्रमै काम गर्दै आएका वाईबा र युवती बीच चिनजान रहेको बुझिएको छ । पक्राउ परेका वाईबाले बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भीमफेदी गाउँपालिका–१, बाघझोरा क्षेत्रबाटै वाईबालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको मुद्दा फाँटका प्रहरी नायव निरीक्षक मनोज यादवले जानकारी दिनुभयो । पीडित युवतीलाई प्रहरीले हेटौंडा अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा आवश्यक स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि रेफर गरेको छ । अभियुक्तलाई आज अदालतमा पेश गरी म्याद लिएर आवश्यक अनुसन्धान गरिने बताइएको छ ।