हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडामा दुई स्थानमा क्वारेन्टाइन बनाइएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम नहोस् भनी जिल्लाभन्दा बाहिर वा विदेशबाट आउनेलाई आवश्यकताअनुसार १४ दिनसम्म परिवार र समुदायबाट टाढा राख्न क्वारेन्टाइन बनाइएको वडा अध्यक्ष ललित घलानले बताउनुभएको छ । क्वारेन्टाइन बनाउन आवश्यक लत्ता, कपडा, सरसफाईका सामग्री हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएपछि वडाले स्थानीय बुद्ध मावि र प्रतिभा आधारभूत विद्यालयमा क्वारेन्टाइन बनाएको वडाअध्यक्ष घलानले जानकारी दिनुभयो ।

हेटौंडा–१२, पानतलेस्थित बुद्ध माविमा निर्माण गरिएको क्वारेन्टाइनमा सुत्नका लागि गरिएको व्यवस्था ।

सोमबारबाट प्रतिभा आधारभूत विद्यालय र मंगलबारबाट बुद्ध माविमा क्वारेन्टाइन सञ्चालनमा आएको हो । बुद्ध माविमा १ जना र प्रतिभा आधारभूत विद्यालयमा ८ जना गरी ९ जना क्वारेन्टाइनमा छन् । उनीहरु भारतको दिल्लीबाट आएका हुन् । क्वारेन्टाइनमा रहेका व्यक्तिको परिवारले नै खानाका लागि आवश्यक सामग्री उपलब्ध गराइरहेको वडा अध्यक्ष घलानले बताउनुभयो । जिल्लाभन्दा बाहिर वा विदेशबाट आएकालाई हेटौंडा अस्पतालस्थित ज्वरो क्लिनिकमा आवश्यक स्वास्थ्य परीक्षण र सोधपुछपछि क्वारेन्टाइनमा राख्न सिफारिस भएअनुसार राख्ने गरिएको वडाअध्यक्ष घलानले जानकारी दिनुभयो ।

यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ का करिब १३ सय नागरिक विदेशमा रहेको १२ नम्बर वडा अध्यक्ष ललित घलानले जानकारी दिनुभयो । केहीदिनअघि टोल विकास संस्थामार्फत घरघरै पुगेर तथ्यांक संकलन गरिएको उहाँले बताउनुभयो । भारत, खाडी मुलुक, जापान, कोरिया, अष्ट्रेलियादेखि युरोप, अमेरिकासम्म वडावासी रहेको पहिचान भएको उल्लेख गर्नुहुँदै वडाअध्यक्ष घलानले स्वदेश फर्कनुपर्ने अवस्था भएकाहरुलाई वडाले आवश्यक सहजीकरण गर्ने पनि बताउनुभयो ।