हेटौंडाः बागमती प्रदेशका विभिन्न जिल्लामा एकैदिन ३ जना मृत फेला परेका छन् । प्रदेशका चितवन र सिन्धुपाल्चोक जिल्लामा ३ जना व्यक्ति मृत फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
बुधबार चितवनको रत्ननगर नगरपालिका–३ स्थित कयरखोलामा ७४ वर्षीया वृद्धा सरलादेवी आचार्य मृत फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा आचार्य मानसिकरुपमा बिरामी रहेको बुझिएको र मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
चितवनकै भरतपुर महानगरपालिका–१, शनिश्चरे टोलमा बुधबार बिहान ११ बजेर ५५ मिनेटको समयमा धान खेतमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भरतपुर महानगरपालिका–१४, शिवनगरका ५० वर्षीय लक्ष्मण परियार रहेको प्रहरीले जनाएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, राजदलमा बुधबार साँझ ६ बजेर ५० मिनेटको समयमा ईन्द्रावती खोला किनारमा पहिचान नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष व्यक्तिको शव सडी गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि नगर अस्पताल मेलम्ची लगिएको प्रहरीले जनाएको छ ।