हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ५० जना सार्वजनिक सवारी चालक र सहचालकको निःशुल्क स्वस्थ्य परीक्षण गरेको छ । चाडवाड लक्षित गर्दै दुर्घटना न्यूनीकरण र स्वास्थ्यसम्बन्धी जनचेतनाका लागि सुरु भएको २ दिने अभियानमा पहिलो दिन बिहीबार ५० जनाले स्वास्थ्य परीक्षण गराएका जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त आचार्यले जानकारी दिनुभयो ।
हेटौंडा अस्पतालको सहकार्य र प्रदेश प्रहरी कार्यालय हेटौंडको आयोजनमा सार्वजनिक सवारीका चालक र सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण भएको हो । स्वास्थ्य परीक्षण गराएका ५० जनामध्ये ६ जनामा मधुमेह, १३ जनाको ब्लड प्रेसर उच्च पाइएको थियो । स्वास्थ्य परीक्षणमा सामान्य खालका परीक्षण गरिएको थियो भने स्वास्थ्यसम्बन्धी परामर्श दिइएको थियो । सवारी दुर्घटनामा चालकको स्वास्थ्य अवस्थाले प्रभाव पार्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि स्वास्थ्य परीक्षण गरिएको आचार्यले बताउनुभयो ।