पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गी (दायाँ) ।

हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीहरुको बीमा गरेको छ । खेल खेल्ने क्रममा घाइते हुनसक्ने जोखिम खेलाडीमा बढी हुने भएकाले समितिले खेलाडीको बीमा गरेको हो ।

खेलाडीहरु प्रशिक्षण गर्दै गर्दा, प्रतिस्पर्धामा सहभागी हुँदा आइपर्ने जोखिमको क्षतिपूर्ति होस् भन्ने उद्देश्यले प्रतिव्यक्ति ५ लाख रुपैयाँको बीमा गरिएको समितिका अध्यक्ष वेश खड्गीले बताउनुभयो । विभिन्न खेलकुद कार्यक्रमहरु खेलसम्बद्ध र अन्य संघसंस्थाले गर्दै आएको भए पनि खेलाडीहरु दुर्घटना वा अन्य कारणबाट घाइते हुँदा उपचार खर्च व्यहोर्न समस्या नहोस् भनेर बीमा गरिएको उहाँले जानकारी दिनुभयो ।

बिहीबार समिति परिसरमा पत्रकार सम्मेलन गर्दै ५ लाख रुपैयाँ बराबरको बीमा गरिएको अध्यक्ष खड्गीले जानकारी दिनुभयो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर मसान्तसम्म सम्पन्न गर्ने र तल्ला थपिएको भवनको पनि उद्घाटन गर्ने उहाँले बताउनुभयो । पाकिस्तानमा हुन गइरहेको एसियन जुनिएर तथा युथ बक्सिङ प्रतियोगितामा ५० केजी तौल समूहमा छनोट हुन सफल खेलाडीलाई ८ हजार रुपैयाँसहित सम्मान गरिने उहाँले जानकारी दिनुभयो । पत्रकार समेलनमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको पनि उपस्थिति रहेको थियो ।