हेटौँडाः हेटौँडाको सन्चो अस्पतालबाट सुरु भएको चिकित्सकमाथिको हातपातको घटना देशव्यापी बन्दै गर्दा दोषीमाथि कारवाही नभएको, आक्रमणका घटना बढ्दै गएको भन्दै मकवानपुरका चिकित्सकले विरोधस्वरुप कालोपट्टी बाँध्ने भएका छन् ।
नेपाल मेडिकल एसोसिएसन हेटौँडा शाखा तदर्थ समितिका अध्यक्ष डा. हरिबहादुर खड्का र सचिव डा. राजु सेढाईको संयुक्त हस्ताक्षरमा बुधबार जारी गरिएको विज्ञप्तिमा हरेक दिन एक घण्टा कालोपट्टी बाँधेर विरोध गर्ने उल्लेख गरिएको छ । एसोसिएसनले हेटौँडामा चिकित्सकमाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।
चिकित्सकमाथि आक्रमण गर्ने मध्ये ६ जनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ भने पक्राउ पुर्जी जारी भएका अन्य फरार छन् । मंगलबार मात्रै संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि आक्रमणका घटनामा संलग्नलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।