गुगल तस्वीर ।

हेटौंडाः हेटौँडा बजारमा चिनी प्रतिकेजी १ सय २५ रुपैयाँमा विक्री भइरहेको छ । हेटौँडा बजारमा चिनीको मूल्य १५ दिनदेखि बढिरहेको व्यवसायीहरुको भनाइ छ । खुद्रा बजारमा चिनी प्रतिकेजी १ सय २५ रुपैयाँमा बिक्री भइरहेको हेटौंडा–१०, बुद्धचोकका खाद्यान्न व्यवसायी विकास श्रेष्ठले जानकारी दिनुभयो ।

व्यवसायी श्रेष्ठका अनुसार एक महिना अगाडि खुद्रा बजारमा चिनी प्रतिकेजी १ सय रुपैयाँमा बिक्री भइरहेको थियो । १ महिनाको अवधिमा २५ रुपैयाँले मूल्य बढेको छ । प्रमुख चाडपर्व नजिकिएसँगै चिनीको मूल्य बढेको हो । चिनीको मूल्य बढेसँगै छिमेकी मुलुक भारतको रक्सौल क्षेत्रबाट चोरी पैठारी गर्ने क्रम बढ्दो छ । व्यवसायीले रक्सौलबाट प्रतिकेजी ८० रुपैयाँमा चिनी खरिद गरी ल्याउने गरेका छन् । भन्सार नाका र नेपालतर्फ प्रहरीका विभिन्न चेकपोष्टमा प्रहरीलाई समेत रकम बुझाउँदै व्यवसायीले दैनिकजसो चिनी ल्याउने गरेका छन् ।

यता बजारमूल्य अस्वभाविकरुपमा वृद्धि भइरहँदा पनि बजार अनुगमन भने हुन सकेको छैन । स्थानीय सरकार र प्रशासनले बजार अनुमगनमा ध्यान दिन नसक्दा उपभोक्ता भने मारमा परिरहेका छन् । अर्कोतर्फ चोरी पैठारी बढ्दो छ ।