हेटौंडाः हेटौंडा–१०, स्थित गोरक्षेश्वर क्वारेन्टाइनमा आज सोमबार १२ जना आइपुगेका छन् । क्वारेन्टाइनमा आज आएका ६ जनालाई हेटौंडा–१२, पदमपोखरीको क्वारेन्टाइनमा पठाइएको र ३ जनालाई कर्रामा रहेको क्वारेनटाइनमा रेफर गरिएको छ ।
त्यस्तै आजै आएका १ जनालाई बकैया गाउँपालिका र हेटौंडा–४ का २ जनालाई होम क्वारेन्टाइनमा पठाइएको क्वारेन्टाइनका इन्चार्ज टिएन ढुङ्गेलले जानकारी दिनुभयो । आइतबार आएका ८ जना र आज सोमबार आएको ९ जना भारतको विभिन्न सहरबाट आएको क्वारेन्टाइनका इन्चार्ज टिएन ढुङ्गेलले जानकारी दिनुभयो । गोरक्षेश्वरमा रहेको क्वारेन्टाइनले हिजो आएका ९ जना मध्ये भारतबाट आएका ८ जनालाई बकैया र बागमती गाउँपालिकाको क्वारेन्टाइनमा पठाइसकेको छ । गाउँपालिकाले पालिकाकै क्वारेन्टाइनमा राख्ने भएपछि उनिहरुलाई आ–आफ्नै पालिकामा पठाइएको हो । बाँकी एक जना भने गोरक्षश्वर क्वारेन्टाइनमै बसेका छन् ।
हिजो र आज गरी २ दिनमा हेटौंडाको क्वारेन्टाइमा २१ जना आएका छन् । उनीहरुमध्ये २० जनालाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा पठाइएको इन्चार्ज ढुङ्गेलले बताउनुभयो । यता हेटौंडा–४, कर्रामा रहेको आइसोलेनसमा आज ४ जना थप भएका छन् । आजसम्म आइसोलेसनमा ८ जना रहेको छन् । ४ जना भारतबाट आएका र ४ जना अन्य स्थानीय तहका रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१०, मा क्वारेन्टाइन निर्माण गरेपछि अब आइसोलेसनमा स्वास्थ्य समस्या देखिएर (रुघा, खोकी, ज्वरो) आएका व्यक्तिहरुमात्र रेफर हुने भएको छ । भारतबाट आएका तथा ट्राभल हिस्ट्रीका आधारमा स्वास्थ्य समस्या नभएका अन्यलाई हेटौंडा–१० को क्वारेन्टाइनमा राखिने आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।