कार्यक्रममा बोल्नु हुँदै मन्त्री दावा दोर्जे लामा ।

हेटौंडाः आज विश्व दुध दिवस । नियमित दुध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं, भन्ने मुल नाराका साथ विश्वभरी विविध कार्यक्रम गरी विश्व दुध दिवस मनाइँदै छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले पनि आज एक कार्यक्रम गरी हेटौंडा—२ मा रहेको ओम वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई दुध तथा दुग्धजन्य पदार्थ खुवाएर विश्व दुध दिवस मनाएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कार्की, दुग्ध सहकारी संघका केन्द्रीय अध्यक्ष नारायण देवकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री दावा दोर्जे लामाले कोरोनाले अस्तव्यस्त बनाएको यो अवस्थामा सबै एकजुट हुनुपर्ने बताउनुभयो । हाल कृषि व्यवसायमा लाग्ने नयाँ कृषकहरुलाई आगामी वर्षको बजेटमा समेटिने पनि उहाँ आश्वासन दिनुभयो ।