हेटौंडाः राजा वीरेन्द्र र राजपरिवार हत्याकाण्ड भएको दिन जेठ १९ गते हेटौंडाका युवाले राजपरिवारको स्मरण गरेका छन् । राजपरिवार हत्यकाण्ड भएको १९ औं वर्ष पूरा भएको दिन आज सोमबार राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (राप्रयुसं) नगर कार्यसमिति हेटौंडाको अगुवाईमा हेटौंडा–४, हुप्रचौरस्थित राजा वीरेन्द्रको शालिक परिसरमा साँझ दीप प्रज्वलन गरेको छ ।

राजावादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राप्रयुसंले स्वर्गीय राजा वीरेन्द्र र राजपरिवारको सम्झनामा दीप प्रज्वलनसहित सालिकमा माल्यार्पण गरी श्रद्धा व्यक्त गरिएको राप्रयुसंका भृगु कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा राप्रपा मकवानपुर जिल्ला अध्यक्ष मधु अधिकारी, युवा नेता केन्द्रीय उपाध्यक्ष दामोदर वाग्लेको पनि उपस्थिति रहेको थियो ।