हेटौंडाः मातृभूमि साहित्य समाज मकवानपुरको २५ औँ स्थापना दिवस मनाइएको छ । समाजको स्थापना दिवसको अवसरमा शनिबार महाकाव्य लोकर्पण तथा सम्मान समर्पण समेत गरिएको छ ।
कार्यक्रम मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेलको अध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको हो । साहित्यकारहरुले आफ्नो कृतिबाट समाजमा भएका विकृतिको बारेमा लेखेको, बोलेको कृतिहरुले समाज परिवर्तनमा अलि छिट्टै रुपान्तरित हुने भएकाले अझै कृति लेख्नुपर्ने, बोल्नुपर्ने प्रमुख अतिथि मोक्तानले बाताउनुभयो ।
मातृभूमि साहित्य समाज मकवानपुर २०८० साहित्यकारको सम्मान संस्कृतिविद् डा. जगमान गुरुङलाई २५ हजार रुपैयाँ राशि र लघुकथाकार डा. विदूर चालिसेलाई ११ हजार १ सय ११ रुपैयाँ राशिसहित सम्मान गरिएको छ । मातृभूमि साहित्य समाज मकवानपुुरका ३ जना सदस्यलाई पनि सम्मान गरिएको छ । शनिबार हेटौंडामा एक समारोहका बीच समाजका संस्थापक हयग्रीव आचार्य, देवराज खरेल र मुक्तिगोविन्द वैद्यलाई सम्मान गरिएको हो ।
कार्यक्रममा मकवानपुरकी महाकाव्यकार मुना अर्यालको महाकाश नामक काव्य विमोचन पनि गरिएको थियो । महाकाश महाकाव्यको केही श्लोक स्वस्तिका दाहाल र लालकाजी परियारले संगीतमय वाचन गर्नुभएको थियो । कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्च मकवानपुर एवम् साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष देवराज तिवारी, सुशील पराजुलीलगायतले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिल, महाकाव्यकार मुना अर्याल, नेपाल मानवअधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठ, आँचल साहित्य कला पुञ्ज मकवानपुरकी उपाध्यक्ष भवानी तिमिल्सिनालगायतको उपस्थिति थियो ।