हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा यही असोज १२ गते र १३ गते १७ औं राष्ट्रव्यापी बुदोकै–दो फुल कन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिताका लागि तयारी पूरा भएको बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताउनुभयो ।

बकैया गाउँपालिकाको समन्वय र बकैया बुदोकै–दो फुल कन्ट्याक्ट कराँते संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा देशका ७ वटै प्रदेशबाट करिब ५ सय जनाको सहभागिता रहने अध्यक्ष थिङले बताउनुभयो । प्रतियोगितामा पुरुषतर्फ खुला ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४० केजी, ४५ केजी, ५० केजी र ५५ केजी तौल समूहमा प्रतिस्पर्धामा हुनेछ ।

प्रतियोगितामा तौलगत समूह विजेता खेलाडीले नगद १५ हजार रुपैयाँ, उपविजेता खेलाडीले ८ हजार, तृतीयले ५ हजार र चौथो हुने खेलाडीले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।