हेटौंडाः हेटौंडा फुटसल स्पोर्टस् सेन्टरको आयोजनामा भएको फुटसल प्रतियोगिताको उपाधि आवास फुटबल क्लबले जितेको छ । शनिबार हेटौंडा–४ कमलडाँडास्थित फुटसल कोर्टमा भएको फाइनल खेलमा आवास फुटबल क्लबले चौकीटोल युथ क्लबलाई ६–१ गोलअन्तरले पछि पार्दै उपाधि हात पार्न सफल भएको हो ।
आवास क्लबको तर्फबाट पहिलो हाफमा विश्व लामा, उज्ज्वल गौतम र सुमन लामाले १–१ गोल र सुमिरराज थोकरले ३ गोल गरेका थिए । उपाधि विजेता आवास क्लबले ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चौकीटोल क्लबले १५ हजार रुपैयाँमै चित्त बुझाएको हो ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेस खड्कीको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण गरिएको छ । अध्यक्ष खड्कीले व्यापार व्यवसायलाई मात्र नभई खेलकुदलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । खेलमा हारजित भन्ने कुरा सामान्य रहेको बताउनुहुँदै आउने दिनहरुमा खेल क्षेत्रमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
३२ वटा टिम सहभागी भएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडी विजेता टिमका समिरराज थोकर घोषित भए । प्रतियोगिताको प्रथम पुरस्कार हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडाले सहयोग गरेको खेल संयोजक निरजसिंह ठकुरीले बताउनुभयो ।