हेटौंडाः प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाको पहलमा मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा ३० वर्षपछि बत्ती बलेको छ । कुलेखानी जलाधार क्षेत्रमा पर्ने थाहा नगरपालिका वडा नम्बर ३ स्थित प्यान्टेडाँडा, बिष्णुढुंगा, झाक्री खोरिया तथा कर्मी खोरियाका जनताले हालसम्म बिजुली बत्ती बाल्न पाएका थिएनन् ।

पटक-पटक पहल गर्दा पनि कहीँकतैबाट विद्युत् बिस्तार कार्य हुन नसकेको उक्त स्थानमा बर्तौलाको पहल तथा स्थानीय सरोकारवालहरूको जनश्रमदानबाट बत्ती बाल्न सफल भएको हो । ‘जनतासँग गुनासो’ एक अभियानको नेतृत्व गर्दै थाहा नगर आइपुग्नुभएका सांसद बर्तौलासँग स्थानीय पीडितहरूले दुई साता पहिले आफ्नो समस्या सुनाएका थिए । उक्त समयमा आफू सो काममा लाग्ने र सकेको पहल गर्ने जनाएका बर्तौलाको प्रत्यक्ष निगरानीमा उक्त काम सम्पन्न भएको हो ।

नगरपालिकाको कार्यालय रहेकै वडाभित्र पनि टुकीको सहारामा बस्नुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीय जनताले खुशी मनाए । गतवर्ष नेपाल विद्युत् प्राधिकरण पालुङ शाखाले लाइन बिस्तार गर्ने भनेर योजना सार्वजनिक गरे तापनि हालसम्म उक्त काम अघि नबढेपछि नेकपा एमालेका सचेतक तथा प्रतिनिधिसभाका सदस्य बर्तौला र स्थानीय जनताको संयुक्त पहलमा उक्त काम सम्पन्न भएको छ ।