पछिल्लो समय प्राविधिक शिक्षाको चर्चा धेरै हुने गरेको छ । विज्ञानका साथै प्रविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर मानवीय भौतिक सुविधा अभिवृद्धि गर्ने एवम् भौतिक तथा सामाजिक आवश्यकताहरु परिपूर्ति गर्ने शिक्षालाई प्राविधिक शिक्षा भनिन्छ । वास्तवमा सीपमूलक, व्यावसायिक र व्यवहारिक शिक्षा नै प्राविधिक शिक्षा हो । प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि परेको भन्ने गरिएको छ । प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न पर्दैन । आफ्नो व्यवसाय गर्ने र आफ्नै कमाइ गरेर खाने संस्कृतिको विकास नहुनुमा हामीले अहिलेसम्म दिइँदै/पाउँदै आएको अनुत्पादक औपचारिक शिक्षालाई मान्ने गरिएको छ । यसकारण सरकारले पनि पछिल्लो समय प्राविधिक शिक्षाको विकासमा जोड दिएको छ । विद्यालय तहमै प्राविधिक धारतर्फका विभिन्न विषयहरु अध्यापन भइरहको छ । विद्यार्थीहरु पनि प्राविधिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित देखिएका छन् । गाउँ–गाउँमा प्राविधिक शिक्षालय खुल्ने क्रम बढिरहेको छ । प्राविधिक शिक्षाको आवश्यकतालाई जति महत्व दिइएको छ, भएका प्राविधिक शिक्षा र शिक्षालयहरुको गुणस्तरीयता र प्रभावकारितामा पर्याप्त ध्यान पुग्न भने सकेको देखिँदैन ।
सरकारले प्राविधिक शिक्षाको विकासका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्थापना गरेको छ । सीप विकास तालिम केन्द्र नामको सरकारी कार्यालय पनि प्राविधिक शिक्षा र तालिमको लागि क्रियाशील छ । विभिन्न विश्वविद्यालयले स्वास्थ्य, इन्जिनिरयरिङ, वन, कृषि, पशु, कम्प्युटर विज्ञानसँग सम्बन्धित थुप्रै विषयका स्नातक र स्नातकोत्तरका विषयहरु अध्यापन गराइरहेको छ । विद्यालय शिक्षामा पनि प्राविधिक धारतर्फको कक्षा ९–१२ मा विभिन्न विषय अध्ययनको व्यवस्था गरिएको छ । संघ, प्रदेश र स्थानीय सरकारले पनि धेरै प्रकारका व्यावसायिक तालिम सञ्चालन गर्दै आएका छन् । विभिन्न प्रकारकार गैरसरकारी संस्थाहरुले पनि व्यासायिक तालिम सञ्चालन गरिरहेका छन् । प्राविधिक शिक्षा तथा तालिमका लागि यति धेरै निकाय क्रियाशील बनिरहँदा देशको आवश्यकता अनुकूलको प्राविधिक ज्ञान, सीप र क्षमता भएका जनशक्ति भने अझै अभाव भइरहको छ । संघीयता कार्यान्वयनसँगै कक्षा १२ सम्मको विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । स्थानीय तहले आफ्नो क्षेत्रको आवश्यकताबमोजिम शिक्षाको व्यवस्थापन गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने भए पनि त्यसो हुन सकेको छैन । सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा प्राविधिक र व्यावसायिक शिक्षाको विकास र विस्तारमा अधिकांश स्थानीय तहले प्रभावकारी ठोस कार्यक्रम ल्याउन सकेको छैन ।
मुलुकमा प्राविधिक शिक्षाको गुणस्तरीयतामाथि पनि प्रश्न उठ्ने गरेको छ । मकवानपुरको बकैया गाउँपालिकास्थित महेन्द्र माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीको कक्षा १२ को परीक्षाको नतिजा शून्य आउनुले पनि यसलाई पुष्टि गर्दछ । उक्त विद्यालयबाट २०८० सालको १२ कक्षाको परीक्षामा सहभागी २३ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । अघिल्लो वर्षको परीक्षामा पनि ३० जना सहभागी भएकामा १ जनामात्र विद्यार्थी उत्तीर्ण भएका थिए । विद्यालयले इलेक्ट्रिकल इन्जिनियरिङ विषय अध्यापन गराउँदै आएको छ । सरकारले हरेक स्थानीय तहमा कम्तिमा एउटा प्राविधिक धारतर्फको विद्यालय सञ्चालन गर्ने नीतिअनुसार ग्रामीण क्षेत्रका विद्यालयमा पनि प्राविधिक विषयको पठनपाठन भइरहको छ । तर, प्राविधिक विषय अध्यापन गर्ने दक्ष जनशक्तिको व्यवस्थापन र प्राविधिक विषयको पाठ्यक्रम विद्यार्थीको क्षमताअनकूल नबनाउँदा समस्या भइरहको देखिन्छ ।
प्राविधिक विषय भनेको सीपमा आधारित हुन्छ । तर, सरकारले विश्वविद्यालय तहमा अध्ययन गर्नुपर्ने कुरालाई विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्दा विद्यार्थीलाई कठिन भइरहेको छ । प्राविधिक विषयलाई प्रयोगात्मक र सीपमूलक सीपसँग जोड्न नसक्दासम्म प्राविधिक विद्यालयहरुको नतिजामा उल्लेख्य सुधार हुन सक्दैन । यसका लागि तीनै तहको सरकारले गम्भीर भएर समीक्षा गर्नुपर्छ । विशेषगरी स्थानीय सरकारले आफ्नो भौगोलिक अवस्था, पालिकाको आवश्यकता र सम्भावनालाई मध्यनजर गरेर उपयुक्त विषय र अवधिको प्राविधिक शिक्षाको व्यवस्थापनमा जोड दिनु आवश्यक देखिन्छ ।