हेटौंडाः विभिन्न प्राविधिक विषयमा एक सय २० जना प्रशिक्षार्थीलाई तालिम दिइने भएको छ । प्रशिक्षार्थीहरुलाई व्यावसायिक शिक्षा सञ्चालन गरिरहेका संस्थामार्फत् कार्यस्थलमा आधारित २४ महिने तालिम सञ्चालन गर्न लागिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ का लागि इन्स्योर परियोजनाको दोस्रो चरणअन्तर्गत् तालिम सञ्चालन हुनेछ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत् तालिम कार्यक्रम कार्यान्वयन गरिने बताइएको छ । देशभर ४ सय ६० जनालाई दिइने यस तालिम हेटौंडामा एक सय २० जनालाई दिइनेछ ।

सहभागीहरुलाई दैनिक एक सय रुपैयाँ भत्तासहित निःशुल्क तालिम सञ्चालन गरिनेछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले तालिमको पाठ्यक्रम निर्माण गरेको छ भने परीक्षा पनि सीटीईभीटीले नै लिनेछ ।

हेटौंडा उपमहानगरपालिकाका चार शैक्षिक संस्थाहरुले औद्योगित प्रशिक्षार्थी तालिम सञ्चालन गर्दैछन् । सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले प्रकाशन गरेको सूचनाअनुसार मंगलबार हेटौंडा उपमहानगरपालिकाले पनि तालिमका लागि आवेदन दिन सूचना निकालेको हो ।

निर्मल माध्यमिक विद्यालय, हेटौंडा–१९, बस्तीपुरमा इलेक्ट्रिक इन्जिनियरिङतर्फ ४० जना, नेपाल भारत बहुप्राविधिक विद्यालय हेटौंडा–६, गौरीटारमा मेकानिकल इन्जिनियरिङतर्फ ४० जना, भूटनदेवी माध्यमिक विद्यालय, हेटौंडा–४ मा सिभिल इन्जिनियरिङतर्फ २० जना र जनजागृति माध्यमिक विद्यालय, हेटौंडा–१५, रातमाटेमा अटोमोबाइल इन्जिनियरिङतर्फ २० जना गरी एक सय २० जनालाई निःशुल्क तालिम दिने भूटनदेवी माध्यमिक विद्यालयको प्राविधिक कार्यक्रम संयोजक मनिष महर्जनले जानकारी दिनुभयो । अन्तर्वार्ताबाट तालिममा सहभागीको छनौट गरिने बताइएको छ ।