हेटौंडाः हेटौंडा–१, स्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गरिएको घटनामा संलग्न रहेकामध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१२, सिग्रेनीका ३६ वर्षीय जिवन लामालाई हेटौंडा–१५, रातोमाटेबाट हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
यस अघि हेटौंडा–१२, सिग्रेनीका कै सुनिल पाख्रिन, रमा प्रधान, रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको थियो । जिल्ला अदालतले पक्राउ परेकाबाहेक घटनामा संलग्न थप ५ जनाको नाममा आइतबार पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएका मध्ये २ जना पक्राउ परे भने अन्य ३ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । गत साताको बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा. प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो ।